चितवन, साउन ३१ –
नारायणगढको लायन्स चोकमा रहेको शुभ पेट्रोल्याण्डले सवारी चालक तथा स्थानीयबासीको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ ।
आज बिहान ८ बजेदेखि १० बजेसम्म र दिउँसो १२ बजेदेखि २ बजेसम्म आयोजित परीक्षण कार्यक्रममा १५५ जनाको सुगर र १८० जनाको रक्तचाप जाँच गरिएको शुभ पेट्रोल्याण्डका सञ्चालक सबल पियाले जानकारी दिए ।
निदान प्याथोलोजी भरतपुरको सहकार्यमा मधुमेह र रक्तचापको परीक्षण गरिएको हो । शुभ पेट्रोल्याण्डले विभिन्न समयमा निदान प्याथोलोजीसँग सहकार्य गर्दै स्वास्थ्य परीक्षण गर्दै आइरहेको छ ।
सेवा लिन आएका लायन्स रोड टोल सुधार समितिका अध्यक्ष रामजी दाहालले कार्यक्रम धेरै नै प्रभावकारी भएको बताए । उनले शुभ पेट्रोल्याण्डले विभिन्न सामाजिक काम गर्दै आइरहेको भन्दै सञ्चालक पियाको प्रसंशा गरे ।
स्वास्थ्य परीक्षण गर्न आएका चालकहरुले शुभ पेट्रोल्याण्डले आफूहरुको स्वास्थ्यको चिन्ता गरी परीक्षण गराएको भन्दै सञ्चालक पियालाई धन्यवाद दिएका छन् ।