चितवन, २८ साउनः
जिल्लामा पशुचौपायमा देखिएको लम्पि स्किनरोग नियन्त्रणका लागि खोप अभियान सुरू गरिने भएको छ । आगामी भदौ १ देखि साताव्यापी खोप अभियान सञ्चालन गर्न लागिएको हो ।
बागमती प्रदेश सरकारको सहयोगमा खोप अभियान सञ्चालन गर्न लागिएको पशुसेवा कार्यालयले जनाएको छ । कार्यालयकी सूचना अधिकारी डा सविना मिश्रका अनुसार प्रदेश सरकारबाट प्राप्त खोप सातै स्थानीय तहमा वितरण गरी पशुलाई लगाइने छ । प्रदेश सरकारले १३ जिल्लामा अभियानको रूपमा लम्पि स्किनविरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको जनाइएको छ ।
जिल्लामा दुई हजार डोज खोप बाँकी छ । अभियानका लागि थप १० हजार डोज खोप प्रदेशबाट आउँदै छ । उहाँले भन्नुभयो “अहिले १२ हजार डोज खोप लगाउँदै छाँै ।” सातै स्थानीय तहमा गाईभैँसीमा यो खोप लगाइने छ । रोग लागिसकेका, गोठमा रोग देखिएका पशुलाई खोप नलगाइने उहाँले जानकारी दिनुभयो । स्थानीइ तहमा खोपकर्ता नियुक्त गरी पठाउने तयारी गरिएको छ ।
जिल्लामा हालसम्म ६१ हजार ७९९ पशुमा लम्पि स्किनविरुद्ध खोप लगाइ सकिएको छ । भरतपुर महानगरपालिकामा १४ हजार ८९६, खैरहनी नगरपालिकामा आठ हजार २००, राप्ती नगरपालिकामा १४ हजार ५००, रत्ननगरमा आठ हजार ६०० पशुमा खोप लगाइएको छ ।