गण्डकी, २६ साउन :
पछिल्ला दुई सातामा पोखरा महानगरपालिकामा १२९ जना डेङ्गी सङ्क्रमणका बिरामी थपिएका छन् ।
यही साउन १० गतेसम्ममा ३०३ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएकामा आइतबार उक्त सङ्ख्या वृद्धि भइ ४३२ पुगेको हो । जुन यस वर्ष गण्डकी प्रदेशभरमा पुष्टि भएका सङ्क्रमितमध्ये आधा भन्दा बढी सङ्ख्या हो । प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार गत पुसयता मनाङबाहेक प्रदेशका १० जिल्लामा कूल ८११ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ ।
प्रदेश राजधानी पोखरा गत वर्ष डेङ्गीको ‘हटस्पट’ बनेको थियो । उक्त वर्ष पोखरा महानगरपालिकामा मात्र आठ हजार ६०० जनाभन्दा बढीमा डेङ्गी सङ्क्रमण भएको थियो । डेङ्गी सङ्क्रमणबाट पोखराका तीन जनाको मृत्यु भएको थियो । साउनदेखि कात्तिकसम्म डेङ्गी सङ्क्रमणको जोखिम उच्च रहने भएकाले आगामी दिनमा सङ्क्रणको दर बढ्न सक्ने अनुमान गरिएको छ ।
गत वर्षजस्तो सङ्क्रमण व्यापक हुन नदिन उच्च सतर्कता अपनाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले डेङ्गी सङ्क्रमणको न्यूनीकरण, रोकथाम तथा व्यवस्थापनका लागि मन्त्रालय मातहतका सबै निकाय तयारी अवस्थामा रहेको बताउनुभयो । वर्षायाम सुरु भएपछि डेङ्गी सङ्क्रमणको दर बढ्दै गएको हो ।