चितवन,साउन १९-
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजामा चितवनको भरतपुरस्थित गुरुकुल कलेजका विद्यार्थी असिम कँडेलले ३.९६ जिपिए ल्याएका छन । सोमबार साँझ प्रकाशित नतिजा अनुसार कँडेलेले प्राप्त गरेको जिपिए चितवनकै उत्कृष्ट (चितवन प्रथम) भएको दाबी कलेजको छ । कलेजका सहप्राचार्य जे एन लामिछानले अहिलेसम्म प्राप्त जानकारी अनुसार असिमले प्राप्त गरेको नतिजाले गुरुकुल कलेजका विद्यार्थी चितवनमै प्रथम भएको दाबी गर्नुभयो । यसवर्ष कलेजबाट ३ सय ३५ जना विद्यार्थीले कक्षा १२ को परीक्षा दिएका थिए । असिम विज्ञान संकायका विद्यार्थी हुन । गुरुकुल कलेज २०८० सालको परीक्षामा पनि चितवन जिल्ला प्रथम भएको थियो । शिक्षक विद्यार्थीको अथक मेहनत र परिश्रमले उत्कृष्ट नतिजा ल्याउन सफल भएको कलेजका एकेडेमिक डाइरेक्टर प्रतिक ढकालले बताउनुभयो । नयाँ व्यवस्थापनमा कलेज संचालनसंगै गुरुकुलले बर्षेनी उत्कृष्ट नतिजा हाँसिल गर्दै आएको छ ।
राष्ट्रिय परीक्षा बोर्डद्धारा प्रकाशित नतिजाअनुसार देशभरबाट नियमिततर्फ ६१ दशमलव १७ र आंशिकतर्फ ३६ दशमलव ४९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत वैशाख २१ गतेदेखि सञ्चालन गरिएको परीक्षामा नियमिततर्फ तीन लाख ९६ हजार ३४७ परीक्षार्थी सहभागी भएकामा दुई लाख ४२ हजार ७६५ विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् । यसमा ३८ दशमलव ८३ विद्यार्थीले ‘ननग्रेड’ प्राप्त गरेका बोर्डले जनाएको छ ।
यस्तै, आंशिकतर्फ एक लाख १४ हजार ६४० विद्यार्थी सहभागी भएकामा ४१ हजार ८४० ले ग्रेड प्राप्त गरेका छन् । समग्रमा कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थीमध्ये दुई लाख ८४ हजार ३०५ जनाले ग्रेड प्राप्त गरेका बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । यस्तै, नियमिततर्फ ११ र आंशिकतर्फ छ गरी १७ जनाको परीक्षा रद्द गरिएको छ । ननग्रेड आएका विद्यार्थीको ग्रेडवृद्धि परीक्षा आगामी भदौ २८ र २९ गते सञ्चालन हुने बोर्डले जनाएको छ ।