काठमाडौँ, १९ साउन :
कक्षा १२ को नतिजा गत वर्ष भन्दा यो वर्ष ९ प्रतिशतले वृद्धि भएको छ । आज सोमबार साँझ परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्दै यस वर्षको नतिजा गत वर्षभन्दा राम्रो आएको जानकारी दिएको हो ।
परीक्षामा नियमिततर्फ तीन लाख ९५ हजार ९०८ र आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना गरी कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी भएका थिए ।
बोर्डका अनुसार नियमित तर्फ ६१.१७ प्रतिशत ग्रेडेड (उत्तीर्ण) भएका छन् भने आंशिक तर्फ ३६.४९ प्रतिशत मात्र उत्तीर्ण भएका छन् । अर्थात नियमित तर्फ २ लाख ४२ हजार ४६५ जना र आंशिक तर्फ ४१ हजार ८४० विद्यार्थी उत्तीर्ण भएका छन् ।
परीक्षाका क्रममा अमर्यादित गतिविधिमा संलग्न भएका कारण कुल १७ जनाको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ । तीमध्ये नियमित तर्फ ११ र आंशिक तर्फ ६ जनाको परीक्षा रद्द गरिएको हो ।
नतिजाअनुसार परीक्षार्थीहरूले प्राप्त गरेको ग्रेड (जीपीए) को आधारमा उत्तीर्ण विद्यार्थीको सङ्ख्या पनि विवरणसहित सार्वजनिक गरिएको छ । जिपिएका आधारमा कसले कति जिपिए ल्याए त अब त्यसको बारेमा कुरा गरौं ।
बोर्डका अनुसार नियमित र आंशिक दुबै तर्फ गरी कुल २ लाख ८४ हजार ३०५ परीक्षार्थी ग्रेडेड (उत्तीर्ण) भएका छन् । तीमध्ये सबैभन्दा उच्च ग्रेड ३.६१ देखि ४ जीपीए प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या १३ हजार ५०२ रहेको छ ।
त्यस्तै, जीपीए ३.२१ देखि ३.६० ल्याउने विद्यार्थी ५५ हजार ८९६ जना छन् । यसैगरी २.८१ देखि ३.२० जीपीए प्राप्त गर्ने ९४ हजार २६८ जना छन् ।
२.४१ देखि २.८० ल्याउनेको सङ्ख्या ६९ हजार ८१२ छ । २.०१ देखि २.४० बिचका विद्यार्थी ८ हजार ९६४ रहेका छन् । १.६१ देखि २ जीपीए ल्याउने विद्यार्थी सङ्ख्या २३ रहेको छ ।
ननग्रेडेड अर्थात अनुत्तीर्ण भएका हरुका लागि आगामी भदौ २८ र २९ गते ग्रेड वृद्धि परीक्षा हुने छ ।









