भरतपुर, १६ साउन ।
पश्चिम चितवनको विद्युत् आपूर्ति समस्या समाधान भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले भरतपुर महानगरपालिका वडा नम्बर–१३, देवनगरबाट सीधै जगतपुरमा ११ केभीको फिडरमार्फत विद्युत आपूर्ति गर्न थालेपछि हाल चनौली वितरण केन्द्रको लोड घटेको प्राधिकरणले बताएको छ ।
भरतपुरबाट चनौलीमा ३३ केभिएको प्रसारणलाइन पठाइएको थियो । त्यसले नधानेकै कारण आपूर्तिमा समस्या आएको थियो । बुधबारदेखि भने देवनगरबाट जगतपुर, शुक्रनगर तथा माडी जाने विद्युत्को आपूर्ति हुन थालेपछि चनौलीमाथि परेको लोडको दबाब कम भएको विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन प्रमुख जीतेन्द्रकुमार झाले बताए । ‘अब चितवनको विद्युत् आपूर्तिको समस्या पूर्णरुपमा समाधान भएको छ’, उनको भनाइ छ ।
लोडसेडिङ गरेको भनेर व्यापक आलोचना भएपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आफैँ साउन १२ गते चितवन पुगेर स्थलगत अवलोकन गर्दै समस्या समाधान गर्न निर्देशन दिएका थिए ।
साउनमा परेको खडेरी, चर्को गर्मी र किसानहरुले बोरिङबाट पानी तान्ने पम्प चलाउँदा ओभरलोड भएर पटकपटक विद्युत् जाने समस्या व्यापक थियो । त्यो समस्या बुधबारदेखि समाधान भैसकेको डिभिजन प्रमुख झाले जानकारी दिए ।
ओभरलोडको समस्या समाधान भएको हुँदा अब ढुक्कले चाहिएजति विद्युत् उपभोग गर्न सकिने उनले बताए ।
उनले भने, ‘पोल ढल्ने वा अन्य खास प्राविधिक समस्याबाहेक ओभरलोडका कारणले लाइन जाने समस्या अब चितवनमा छैन, समस्याको शतप्रतिशत समाधान भैसक्यो ।’ देवनगरबाट जगतपुर जाने विद्युत् प्रसारणलाइनको कमजोर संरचनालाई पनि बलियो बनाइएको झाले बताए ।