कसरा १४ साउन
चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रबाट नियन्त्रणमा लिइएका बाघ पाल्न मुस्किल हुने गरेको छ । बजेट अभावमा बाघ पाल्न कठिन हुने गरेको हो ।
चितवन राष्ट्रिय निकुञ्जको खोरमा सात बाघ रहेका छन् । निकुञ्जको मुख्य कार्यालय कसरामा तीन, सौराहामा दुई र देवनगरमा दुई बाघ छन् । मानव बस्तीमा पसेर हिंस्रक गतिविधि गरे वा बिरामी भएमा बाघलाई नियन्त्रणमा लिएर खोरमा राख्ने गरिन्छ । बाघलाई दैनिक मासु खुवाउनु पर्छ ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार वार्षिक रुपमा ती बाघ पाल्न रू ३० लाख हाराहारी बजेट चाहिन्छ । एउटा बाघलाई दैनिक पाँच किलोदेखि सात किलो राँगाको मासु खुवाउनुपर्ने हुन्छ । सरकारले नियन्त्रणमा लिइएका बाघ पाल्न वार्षिक रू पाँच लाख हाराहारी मात्रै बजेट छुट्याउने गरिएको उनले बताए ।
सूचना अधिकारी थापामगरले भने, “गत आर्थिक वर्षमा बाघका लागि रू २२ लाख हाराहारी मासुको भुक्तानी गर्न बाँकी छ । एक महिनामा सात बाघलाई दैनिक पाँच किलोका दरले राँगाको मासु खुवाउँदा मासिक रू दुई लाखभन्दा बढी खर्च हुन्छ । बाघलाई दैनिक मासु खुवाइरहेको भए पनि रकम भुक्तानी गर्न नसकिएको उनले जानकारी दिए ।
“खोरमा थप बाघ राख्ने ठाउँ छैन”, सूचना अधिकारी थापामगरले भने । राख्ने ठाउँ नभएपछि गत वर्ष एउटा बाघ पर्सा पठाइएको थियो । बर्सेनि बाघको आहाराका लागि बजेट घट्दै जाने र नियन्त्रणमा लिनुपर्ने बाघ थपिँदै जाने हुँदा समस्या भएको उनले बताए ।
पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा वयस्क बाघ १२८ रहेका छन् । आहारा प्रजातिको सङ्ख्या बढ्दै जाँदा बाघको सङ्ख्या पनि बढ्दै गएको छ । यो निकुञ्ज बाघका लागि राम्रो बासस्थान हो । यहाँ आउने पर्यटकलाई सहजै देखाउन देवनगरको खोरमा बाघ राखिएका छन् । त्यहाँ सहज रुपमा बाघ हेर्न पाइन्छ ।
बाघ संरक्षणबारे सचेतना
यसैबीच रत्ननगर वडा नं–६, सौराहास्थित बछौली माविका विद्यार्थीहरुका लागि बाघ संरक्षणसम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको छ । वाइल्डलाइफ भिक्टिम फन्टले विश्व बाघ दिवसको अवसरमा विद्यार्थीलक्षित सचेतनामूलक कार्यक्रम गरेको हो ।
बाघ जोगाउन समुदायलाई पुग्ने फाइदाको विषयमा विद्यार्थीलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको वाइल्डलाइफ भिक्टिम फन्टकी अध्यक्ष डोमा पौडेलले बताइन् । विद्यार्थीमार्फत बाघ संरक्षणको सन्देश समाजमा लैजाँदा प्रभावकारी हुने उनको भनाइ छ ।
कार्यक्रममा अध्यक्ष पौडेलले नेपालमा बाघको अवस्था र संख्या, बाघको मह¤व र संरक्षण गर्नुपर्ने कारण, बाघको बासस्थान र मान्छे एवं बाघबीचको असमझदारीको कारण, बाघ जोगाउन समुदायले खेल्नुपर्ने भूमिकाका विषयमा सहजीकरण गरेकी थिइन् । सो अवसरमा उनले मानिसको अस्तित्व जोगाउन बाघ संरक्षण गर्नुपर्ने बताइन् । उनले जैविक विविधताको संरक्षण र जलवायु परिवर्तनको असर कम गर्नसमेत बाघको मह¤व रहेको बताइन् । चितवन सफारी पर्यटनको हिसाबले परिचित रहेको भन्दै अध्यक्ष पौडेलले पर्यापर्यटनको विकासका लागि निकुञ्जका वन्यजन्तु संरक्षण गर्नुपर्ने बताइन् ।
विश्व वन्यजन्तु कोषबाट अन्तर्राष्ट्रियस्तरको संरक्षण पुरस्कार प्राप्त पौडेलले वन्यजन्तु जोगाउन समुदायकेन्द्रित कार्यक्रम सञ्चालन गर्ने गरी वाइल्डलाइफ भिक्टिम फन्ट नामक संस्था स्थापना गरेर काम गरिरहेकी छन् । ‘म नेपालको पहिलो महिला नेचर गाइड हुँ’, उनले भनिन्, ‘चितवनको पर्यटन प्रवद्र्धन गर्न वन्यजन्तु जोगाउनुपर्छ भनेर दिनरात काम गरिरहेकी छु ।’
कार्यक्रममा समुदायमा आधारित चोरीसिकार नियन्त्रण युवा जागरण अभियानकी सचिव सरस्वती सेढाईं, वाइल्डलाइफ भिक्टिम फन्टकी कोषाध्यक्ष रीता शर्मा, विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो ।