चितवन, साउन १०–
चितवन प्रहरीले साँढे ६ क्वीन्टल भन्दा बढी गाँजा बरामद गरेको छ । गाँजा सहित एक जना भारतीय नागरिकलाई पक्राउ परेका छन् भने भारतीय कन्टेनरलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीका अनुसार चितवनबाट मकवानपुरतर्फ जाँदै गरेको अवस्थामा राप्ती–१, स्थित लोथर पुल नजिक भारतीय कन्टेनरबाट उक्त गाँजा बरामद गरिएको हो ।
उक्त गाँजा कन्टेनरको ड्राइभर क्याबिनको माथिल्लो भागमा फल्स बटन बनाइ प्याकिङ गरिएको अवस्थामा फेला परेको हो । कन्टेनर चालक भारत बिहार राज्य पूर्वी चम्पारणको तुर्कालिया बस्ने वर्ष ३७ का शेख सविल अख्तर समेत पक्राउ परेका छन् ।
प्रहरी प्रमुख पुरीका अनुसार विशेष सूचनाको आधारमा आज बिहान ४ बजेको समयमा भारतीय नम्बर प्लेट युपी ८२ टी ३९२१ नम्बरको कन्टेनर ट्रक चेकजाँच गर्दा ६७१ किलो ६ सय ग्रामको ४३ वटा पोका गाँजा बरामद गरिएको हो ।
प्रहरीका अनुसार काठमाडौंबाट सामान पुर्याएर खाली फर्किएको कन्टेनरमा चितवनको राप्तीबाट गाँजा लोड गरेर वीरगञ्ज हुँदै भारत लैँजादै गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।