चितवन, ६ साउन :
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अँध्यारोबाट उज्यालोको बाटोमा सङ्घर्ष गर्नु नै बिपीप्रतिको उच्च सम्मान भएको बताउनुभएको छ ।
नेपाली कांग्रेस भरतपुर महानगरपालिका–११ ले आज यहाँ आयोजना गरेको वडा कार्यालय एवं बिपी स्मृति भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले बिपीले अँध्यारोबाट उज्यालोको खोजीमा सङ्घर्ष गरेकाले अहिले पनि कांग्रेसमा सङ्घर्ष आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “बिपीले आफ्नो मात्रै सोच्नुभएन जनताका लागि सोचेर सङ्घर्षमा हिँड्नुभयो ।
त्यसरीनै हामी हिँड्न जरुरी छ ।” बिपीले उठाएको कष्ट कुनै युगका लागि भएको भन्दै उहाँले त्यो कष्ट अहिले उठाउन आवश्यक रहेको बताउनुभयो ।
उहाँले थप्नुभयो, “कांग्रेसीको मनभित्र भएको भय बिपीको सोचअनुसार हामी हिँड्न सकेनौँ भनेर हो ।
यो पूरा गर्ने जिम्मेवारी तपाई हामीकै हो ।” अहिले भएको परिवर्तन बिपीको विचारअनुसार नभएको भन्ने हुटहुटी कांग्रेसमा रहेको भन्दै उहाँले यसलाई जगाई राख्न सक्नुनै बिपीको सच्चा अनुयायी भएको बताउनुभयो ।