काठमाडौं असार २६
भारतको बिहार राज्यको पूर्णियामा ‘बोक्सी’को आरोप लगाएर एकै परिवारका तीन महिला र दुई पुरुषलाई जिउँदै जलाएर हत्या गरिएको छ । यो घटनाले भारतमा पुनः अन्धविश्वासको भयावह अवस्था रहेको पुष्टि भएको छ ।
यो घटना सोमबार पूर्णियाको राजरानीगन्ज पंचायतअन्तर्गत टेटगामा टोलमा भएको हो । ‘बोक्सी’को आरोपमा आइतबार राति ७५ वर्षीया कातो, ६५ वर्षीय बाबूलाल उराँव, ६० वर्षीया सीता देवी, २५ वर्षीय मञ्जीत उराँव र २२ वर्षीया रेखा देवीलाई घरमै कुटपिट गरी जिउँदै जलाएर मारिएको बताइएको छ ।
बाबुलाल उराँव र सीता देवी श्रीमान्–श्रीमती थिए भने कातो बाबुलालकी आमा थिइन् । मञ्जीत बाबुलालका छोरा थिए र रेखा मञ्जीतकी श्रीमती थिइन् । हत्या हुने सबै एउटै परिवारका सदस्य रहेको समाचारमा उल्लेख छ ।
कातोका पाँच छोरामध्ये बाबुलाल एक थिए । उनका अन्य दाजुभाइ जगदीश, खुबलाल, अर्जुन र जितेन्द्र उराँव आफ्ना–आफ्ना परिवारसहित टोलमै छुट्टाछुट्टै घरमा बस्दै आएका थिए ।
मृतक कातो आफ्ना छोरा–बुहारी बाबुलाल र सीता देवीसँगै बस्थििन् । बाबुलाल र सीता देवीका चार छोरा थिए । तर, टोलमा उनीहरू मञ्जीत र एक नाबालिग छोरासँग मात्र बस्थे । बाँकी दुई छोरा प्रवासी मजदुरको रूपमा बाहिर थिए । कातोका श्रीमानको निधन धेरै वर्षअघि भइसकेको थियो ।
प्राप्त जानकारीअनुसार केही दिनअघि टोलकै एक बालकको मृत्यु भएपछि उक्त परिवारमाथि ‘बोक्सी’को आरोप लागेको हो ।
झण्डै ६० घर भएको यो टोलमा अहिले मृतक परिवारका आफन्तबाहेक अरू कोही छैनन् । टोलका बाँकी बासिन्दा फरार छन् । यसको कारण पाँचजनाको हत्यामा संलग्न रहेको आरोपमा सम्पूर्ण टोलविरुद्ध एफआईआर दर्ता गरिएको छ ।
घटनाको तीन दिन बितिसक्दा तीन जनालाई पक्राउ गरिएको छ । एफआईआरमा २३ जनाको नाम उल्लेख गरिएको छ । अन्य १५० देखि २०० अज्ञात व्यक्तिहरू पनि अभियुक्त बनाइएको छ ।
यो घटनाले पूर्णिया जिल्ला सदरमुकामबाट १२ किलोमिटर मात्र टाढा रहेको टोलमा रातभर पाँचजनालाई कुटपिट गरेर जलाएर हत्या गरिँदा पनि प्रहरीले कसरी समयमै खबर पाउन सकेन भन्ने प्रश्न उठिरहेको छ ।
यस विषयमा पूर्णियाका जिल्लाधिकारी अंशुल कुमार र प्रहरी अधिकारी स्वीटी सहरावत दुवैले बीबीसीसँग बोल्न अस्वीकार गरेका छन् ।
स्थानीय रामदेव उराँव नामका व्यक्तिको बच्चाको मृत्युपछि घटना चर्किएको थियो । बालकको मृत्युपछि रामदेवका भान्जाको पनि स्वास्थ्य बिग्रियो । त्यसपछि बाबुलाल उराँवको परिवारमाथि ‘बोक्सी’को आरोप लगाइएको थियो ।
टोलका केही बासिन्दाले कातो र सीता देवीले जादु र टुना गरेको आरोप लगाएका थिए । घटनापछि मृतक परिवारका आफन्तहरूले डरले प्रहरीलाई समयमै खबर गर्न सकेका थिएनन् ।
कातोका छोरा खुबलाल उराँवका अनुसार, उनले आफ्नी आमा र दाजुको परिवारमाथि कुटपिट भएको देखेका थिए । उनले भने, “हामीमाथि चियोचर्चो गर्न हाम्रो पछाडि मान्छे पठाइयो । प्रहरी बोलाएमा मारिदिन्छौँ भन्ने धम्की पनि दिइयो ।”
सोमबार टोलमा प्रहरी पुग्दा अधिकांश बासिन्दा घर छोडेर भागेका छन् । केही घरमा ताला लागेको छ भने धेरैले ढोका खुलै छाडेर भागेका छन् । उनीहरूले आफ्ना जनावरहरू पनि साथमा लगेका छन् ।
हाल टोलमा पीडित परिवारका आफन्तले पालेका केही जनावरहरू मात्र देखिन्छन् । गाउँमा उनीहरूबाहेक दुई वृद्धा मात्र रहेका छन्, जो बोल्न संकोच मानिरहेका छन् । ती वृद्ध महिलाका आफन्तहरूले पनि उनीहरूलाई टोलमा एक्लै छाडेर भागेका छन् ।
करिब ६० घर भएको यो टोलमा उराँव जातिका मानिसहरू बसोबास गर्छन् । अधिकांश अशिक्षित छन् । उनीहरू मजदूुरी र खेती गरेर जीवन गुजारा गर्छन् । टोलमा एकदुईवटा मात्र पक्की घर छन् । बीबीसी