चितवन, असार १४ –
एमालेको राष्ट्रिय युवा संघ नेपाल भरतपुर महानगर कमिटीले एक महिने वृक्षारोपण अभियान सुरु गरेको छ ।
भरतपुर २९ दासढुंगामा रहेको मदन आश्रित स्मृति पार्कमा वृक्षारोपण गर्दै युवा संघले अभियानको सुभारम्भ गरेको हो । राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीद्वारा सञ्चालित १ महिने वृक्षारोपण अभियान अन्तर्गत रहेर भरतपुर महानगर कमिटीले पनि अभियान शुभारम्भ गरेको युवा संघका केन्द्रीय सदस्य शंकर अधिकारीले बताए । केन्द्रीय कमिटीले हरेक वर्ष यही समयलाई लक्ष्ति गरेर एक महिने वृक्षारोपण अभियान सञ्चालन गर्दै आइरहेको उनले बताए ।
कपुर, निम, चिउरी, अम्बा, कागती, अमला, हर्राे, बर्राे, तेजपत्ता, विरेन्द्र फुल, धुपि लगायत करिब २०० बिरुवा रापिएको युवा संघका महानगर कमिटी अध्यक्ष राम कार्कीले जानकारी दिए ।
महानगर कमिटी अध्यक्ष कार्कीको अध्यक्षतामा भएको वृक्षारोपण कार्यक्रममा नेकपा (एमाले) पोलिटव्युरो सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवी ज्ञवाली, पार्टी केन्द्रीय सदस्यहरु प्रभा बराल, कृष्णभक्त पोखरेल, बागमती प्रदेश उपाध्यक्ष दावादोर्जे लामा, जिल्ला अध्यक्ष कमलराज पाठक, उपाध्यक्ष श्याम विष्ट, सचिव प्रकाश ढुंगाना लगायत पार्टीका नेताहरु एवम् राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य अमृता भट्टराई, जिल्ला अध्यक्ष झलकराज भट्ट, बागमती प्रदेश कमिटी सदस्य एवम् महानगर इन्चार्ज कृष्णप्रसाद अधिकारी, नेतृ रोजिना भट्टराई, निवर्तमान केन्द्रीय सदस्य शिव ढकाल लगायत जिल्ला कमिटी पदाधिकारी एवम् सदस्यहरुको उपस्थिति रहेको थियो ।