चितवन, १२ असारः
चितवन जिल्लाभरी सुनचाँदी पसलहरू भोली बन्द हुने भएका छन् ।
सरकारले सुनचाँदी व्यवसायीहरूका जायज मागहरु सम्बोधन गर्न तदारुकता नदेखाएकाले यहाँका सुनचाँदी व्यवसायीहरुले असार १३ गते जिल्लाभरका सबै सुनचाँदी पसल बन्द गर्न लागेका हुन् ।
सरकारले बजेट मार्फत सुन र सुनका गरगहनाहरूमा २ प्रतिशत विलासिता कर र हिरा,जवाहरात लगायतका बहुमूल्य वस्तुहरूमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णय गरेपछि देशभरका सुनचाँदी व्यवसायीहरू आन्दोलित भएका हुन् ।
चितवन जिल्लाभर भोली शुक्रबार सुनचाँदी पसलहरु बन्द गरी काठमाडौंमा आयोजित संयुक्त विरोध र्यालीमा अनिवार्य सहभागी हुन सम्पूर्ण व्यवसायीहरूलाई आह्वान गरिएको संघका महासचिव गोपाल बहादुर वि.क थापाले बताए। उनले नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको संयुक्त निर्देशन एवं जिल्ला संघको पूर्ण बैठकको निर्णय अनुसार व्यवसाय बन्द गर्न लागिएको जानकारी दिए।
नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष हेमबहादुर विश्वकर्माले सरकारले ल्याएको यस कर नीतिले व्यवसायी मात्र होइन आम उपभोक्ता समेत मारमा रहेको बताउँदै भोली पसलहरु बन्द गर्न लागिएको बताए ।
सरकारको यो कर नीति अत्यन्तै अव्यवहारिक रहेकाले यदि यो व्यवस्था लागू भएमा समग्र सुनचाँदी व्यवसायीहरूले आफ्नो पेसा व्यवसाय बन्द गर्नुपर्ने अवस्था आउने उनले बताए । चितवन जिल्लामा पाँच सयभन्दा बढी सुनचाँदी पसलहरु रहेका छन्।
संघले करको विरोध गर्दै यसअघि पनि जेठ २८ र २९ गते, असार ४ गते जिल्लाभर सुनचाँदी पसलहरु बन्द गरी विविध विरोधका कार्यक्रमहरू समेत सम्पन्न गरेको छ ।