चितवन, असार ८
चितवनको भरतपुर महानगरपालिकाको बजेट अघिल्लो आर्थिक वर्षभन्दा झन्डै १ अर्ब घटेको छ । महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ५ अर्ब १९ करोड ७१ लाख ६६ हजारको बजेट सार्वजनिक गरेको छ ।
महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले महानगरपालिकाको १७औँ नगरसभामा प्रस्तुत गरेको बजेटमा आन्तरिक आयतर्फ १ अर्ब ८० करोड जसमा घर जग्गा रजिस्ट्रेसन एवं खानी तथा नदी जन्य पदार्थको राजस्व बाँडफाँटसमेत, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट २ अर्ब १५ करोड ७६ लाख २५ हजार, संघ सरकारको राजस्व बाँडफाँटबाट ३१ करोड ९१ लाख, बागमती प्रदेश सरकारको राजस्व बाँडफाँटबाट १४ करोड ४ लाख ४१ हजार गरी ४५ करोड ९५ लाख, जनसहभागीता तथा श्रमदानबाट ५ करोड, बैक मौज्दात ७० करोड, सडकबोर्ड नेपालबाट ३ करोड रहने प्रक्षेपण गरेको छ ।
महानगरले सामाजिक सुरक्षा लगायत अन्तरसरकारी अख्तियारी शीर्षकमा १ अर्ब ३५ करोड रहने प्रक्षेपण महानगरको छ । महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि ६ अर्व ५५ करोड ८५ लाख ९८ हजारको ल्याएको थियो । महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा ६ अर्ब ४८ करोड ७९ लाख ९० हजारको बजेट पेस गरेको थियो ।
महानगरले चालु आवमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी बाँकी रहेका योजनालाई भुक्तानीका लागि ६० करोड, विगत आर्थिक वर्षमा भएका योजनाको दायित्व तथा आर्थिक वर्ष २०८१/०८२ मा बहुवर्षीय ठेक्का प्रणालीबाट भएको योजनाहरूको भुक्तानीका लागि २४ करोड ५० लाख बजेट विनियोजन गरेको छ ।
यसैगरी २९ वटा वडालाई न्यूनतम ३ करोड २१ लाख १८ हजार ७ सय ७ देखि अधिकतम ३ करोड ४० लाख ३३ लाख ४ सय ९२ बजेट विनियोजन गरिएको छ । यसैगरी वडालाई न्यूनतम र सूत्रमा आधारित भएर दुई प्रकारबाट वडास्तरीय सिलिङ निर्धारण गरेर बजेट विनियोजन गरेको छ ।