काठमाडौँ ,असार ४-
सरकार र प्रमुख राजनीतिक दलहरूले आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घका प्रतिनिधिहरूसँग प्रतिनिधिसभाको चालु अधिवेशनबाट असार १५ गतेसम्म ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ पारित गर्ने प्रतिबद्धता जनाएका थिए ।
गत वैशाख १७ गते नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला र प्रतिनिधिसभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाले विधेयक चालु अधिवेशनको असार १५ गतेभित्र प्रतिनिधिसभाबाट पारित गराउन आ–आफ्नो तहबाट सम्पूर्ण प्रयास गर्ने प्रतिबद्धता जनाएका थिए ।
तर, त्यो प्रतिबद्धता पूरा गर्न उनीहरू चुकेका छन् । किनकि असार १५ गतेभित्र विधेयक प्रतिनिधिसभा बैठकमा पेस नै नहुने भएको छ । सङ्घीय संसद् सचिवालयले असार १४ गतेसम्मका लागि सार्वजनिक गरेको कार्यतालिकामा शिक्षा विधेयक सदनमा पेस गर्ने विषय उल्लेख छैन ।