चितवन, जेठ २४ –
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) चितवनको संयोजक सरोज तिमिल्सिना बनेका छन् ।
आज नेकपा एमाले चितवनको पार्टी कार्यालयमा आयोजित भेलाले उपाध्यक्ष सरोज तिमिल्सिनालाई संयोजकको जिम्मेवारी तोकेको हो ।
३२ वर्षे उमेर हदबन्दिका कारण अध्यक्ष आचार्यले जिल्ला कमिटीबाट बिदाई लिएको अनेरास्ववियुले जनाएको छ । महाधिवेशनको पूर्वसन्ध्यामा अध्यक्ष आचार्य जिल्ला कमिटीबाट बिदा लिएका हुन् । अनेरास्ववियुको महाधिवेशन भोलि जेठ २५ बाट सुरु हुँदैछ ।
त्यसैगरी कमिटीको सह संयोजकको जिम्मेवारी अमित आचार्य र सचिवको जिम्मेवारी प्रदिप पराजुलीले पाएका छन् । अमित आचार्य जिल्ला सचिव थिए भने प्रदिप पराजुली सहसचिव । जिल्ला कमिटी सबै सदस्य रहने ३९ सदस्यीय आयोजक कमिटी बनेको अनेरास्ववियुले जनाएको छ । नवगठित आयोजकले कमिटीले २९ औं जिल्ला अधिवेशन सम्पन्न गर्नेछ ।
उपाध्यक्ष तिमिल्सिनालाई संयोजक चयन गर्नु अघि जिल्ला कमिटी सदस्यमा अर्जुन अर्याललाई मनोनित गरिएको थियो भने कमिटीकी कोषाध्यक्ष अनुजा खनाल विदेशको बसाईमा रहेकाले कमिटीबाट विदाई गरिएको थियो ।
भेलामा नेकपा एमाले चितवनका अध्यक्ष कमलराज पाठक, एमाले चितवनका सचिवालय सदस्य एवम् विद्यार्थी मोर्चा फाँट प्रमुख अनोज जोशी, एमाले चितवनका लेखा कमिटी अध्यक्ष शंकर अधिकारी, अनेरास्ववियु केन्द्रीय सदस्य एवम् चितवन जिल्ला इन्चार्ज अमित कुमार गुप्ता, अनेरास्ववियु बागमती प्रदेश कमिटी सचिव प्रकाश कालाखेती, आसन्न महाधिवेशनमा चितवबाट जाने प्रतिनिधि, अनेरास्ववियुका जिल्ला, पालिका एवम् क्याम्पस कमिटीका विद्यार्थी नेता लगायतको उपस्थिति रहेको थियो ।
भेलालाई संवोधन गर्दै अध्यक्ष पाठकले महाधिवेशनमा चितवन एक ढिक्का भएर लाग्न आग्रह गरे । अनेरास्ववियुका अध्यक्ष हरि आचार्यले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेको प्रति प्रशंसा गर्दै अध्यक्ष पाठकले आयोजक कमिटीलाई बधाई तथा शुभकामना प्रदान गरेका छन् ।