चितवन, बैशाख २२-
ब्लड डोनर्स सोसाइटी नेपालका संस्थापक अध्यक्ष अर्जुन अधिकारी रक्तदान क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै भारतमा ‘रक्त क्रान्तिवीर विराङ्गना सम्मान’ बाट सम्मानित भएका छन् ।
प्रगति फाउण्डेसनद्वारा उत्तर प्रदेशमा आयोजित द्वितीय अन्तर्राष्ट्रिय रक्तक्रान्ति सम्मान समारोह २०२५ मा उनलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको हो । भरतपुर निवासी अधिकारी लामो समयदेखि रगत व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।
उनले हालसम्म २० पटक रक्तदान गरिसकेका छन् भने सयौं रक्त अभियानहरु र हजारौं ब्याक्तीहरुलाई पुनर्जीवन दिन सफल भइसकेका छन् ।आइतबार आयोजित औपचारिक कार्यक्रममा अधिकारीलाई यो सम्मान प्रदान गरिएको उनले बताए ।
उक्त अभियानमा ब्लड डोनर्स सोसाइटी नेपालका केन्द्रिय समितिका सहित १३ सदस्य सम्मानित भएका छन् । प्रगति फाउन्डेसनको विशेष निमन्त्रणामा ब्लड डोनर्स सोसाइटी नेपालका केन्द्रीय अध्यक्ष अर्जुन अधिकारीको नेतृत्वमा पुगेको नेपाली टोलीमा वरिष्ठ केन्द्रीय उपाध्यक्ष हरिप्रसाद न्यौपाने, महासचिव अञ्जन दवाडी, सचिव अञ्जान तिवारी, केन्द्रीय सल्लाहकारद्वय भागीरथ बस्याल, बालचन्द्र पोख्रेल केन्द्रीय सदस्य सुरेन्द्र धिताल सम्मानित भएका छन् ।
यस्तै चितवन जिल्ला अध्यक्ष एकराज बुर्लाकोटी, सचिव विपिन पाठक, उपाध्यक्ष अभिषेक अधिकारी, रत्ननगर कमिटी अध्यक्ष रमेश नेपाल, आजीवन सदस्य जनक खड्का र सीता न्यौपाने सम्मानित भएका छन् ।