काठमाडाैं, बैशाख ९ –
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पहिलोपटक युक्रेनसँग प्रत्यक्ष द्विपक्षीय वार्ता हुन सक्ने संकेत गरेका छन् । युक्रेन युद्ध शुरू भएपछि पुटिनले पहिलोपटक युक्रेनसँग प्रत्यक्ष वार्ता गर्न सकिने संकेत देखाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
उनको यस्तो संकेत संयुक्त राज्य अमेरिकाले रुस र युक्रेन दुवैलाई शीघ्र शान्ति सम्झौताको लागि दबाब दिएको बेलामा आएको हो ।
बेलायतको राजधानी लन्डनमा यही साता हुने भनिएको अमेरिका, युरोपेली र युक्रेनी अधिकारीबीचको बैठकअघि पुटिनले दिएको यस्तो संकेतले शान्ति प्रक्रियालाई गति दिन सक्ने अपेक्षा गरिएको छ ।
सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै पुटिनले युक्रेनको पूर्वाधारमाथिको आक्रमण रोक्ने विषयमा किभसँग प्रत्यक्ष छलफल गर्न सकिने बताए ।
उनले युद्धविरामप्रति रुसको सकारात्मक दृष्टिकोण रहेको उल्लेख गरे । हालै रुसले लागू गरेको ३० घण्टे इस्टर युद्धविरामको उदाहरण दिँदै उनले भने, ‘हामी सधैं शान्ति पहलप्रति सकारात्मक छौं । हामी आशा गर्छौं कि युक्रेनका प्रतिनिधिहरूले पनि यस्तै भावना राखेका छन् ।’
तर, पछिल्लो ३० घण्टे युद्धविराम दुवै पक्षले एक-अर्कालाई उल्लंघन गरेको आरोप लगाएर विवादास्पद बन्यो । पुटिनले हालैका रुसी आक्रमणले युक्रेनका कतिपय नागरिक पूर्वाधारलाई निशाना बनाएको स्वीकार गरे । तर, ती पूर्वाधारहरू सैन्य उद्देश्यका लागि प्रयोग भएको उनको दाबी छ ।
‘यो विषयमा गहन छानबिन आवश्यक छ’, सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने, ‘यो द्विपक्षीय संवादको परिणामस्वरूप सम्भव हुन सक्छ । हामी त्यसलाई अस्वीकार गर्दैनौं ।’
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पुटिनको भनाइलाई पुष्टि गर्दै रुसको समाचार एजेन्सी इन्टरफ्याक्सलाई भनेका छन्, ‘राष्ट्रपतिले नागरिक पूर्वाधारमाथि आक्रमण नगर्ने विषयमा द्विपक्षीय छलफल सम्भव छ भनेर युक्रेनी पक्षसँग वार्ता र छलफललाई संकेत गर्नुभएको हो ।’
सन् २०२२ मा युक्रेनमाथि रुसले पूर्ण रूपमा आक्रमण शुरू भएपछि रुस-युक्रेनबीच प्रत्यक्ष वार्ता भएको छैन ।
युक्रेनको जवाफ र जेलेन्स्कीको अडान
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी प्रस्तावमा सार्वजनिक टिप्पणी गरेका छैनन्, तर मंगलबार उनले लन्डन वार्तामा युक्रेनी प्रतिनिधिमण्डल पठाउने घोषणा गरे ।
उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘युक्रेन, बेलायत, फ्रान्स र अमेरिकासँग हामी विनाशर्त युद्धविराम र शान्ति स्थापनाका लागि रचनात्मक रूपमा अघि बढ्न तयार छौं । विनाशर्त युद्धविराम शान्तिको पहिलो कदम हुनुपर्छ ।’
जेलेन्स्कीले शान्ति सम्झौताको लागि तत्परता देखाएका छन्, तर उनले गत महिना रुसले कब्जा गरेको क्षेत्रलाई रुसी क्षेत्रको रूपमा मान्यता नदिने बताए । युक्रेनले बारम्बार रुसी नागरिकमाथि जानाजानी हवाई र ड्रोन आक्रमण गरेको आरोप लगाएको छ ।
अमेरिकी दबाब
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले गत शुक्रबार शान्ति प्रक्रियामा कुनै प्रगति नभएमा अमेरिकाले युक्रेनी द्वन्द्व अन्त्य गर्ने प्रयासबाट पछि हट्न सक्ने चेतावनी दिएका थिए ।
रुस र युक्रेन दुवै पक्षबीच मतभेद कम गराउने प्रयासस्वरूप अमेरिकाले एउटा ‘व्यापक ढाँचा’ प्रस्तुत गरेको रुबियोको भनाइ छ । उक्त प्रस्तावअनुसार २०१४ मा रुसले कब्जा गरेको क्रिमिया रुसकै नियन्त्रणमा रहने गरी सम्झौता गर्न अमेरिका तयार छ ।
उक्त ढाँचाका केही पक्षहरू अझै पूरा गर्न बाँकी छन् । अमेरिकाले यो साता लन्डन वार्तामा युरोपेली र युक्रेनी पक्षसँग सहकार्य गर्ने योजना बनाएको छ ।
साथै, ट्रम्प प्रशासनले मध्यपूर्व दूत स्टिभ विटकफ र रुसबीच अर्को बैठक बस्ने पनि बताएको छ । आफूले बनाएको ढाँचामा पुटिनलाई सहमत गराउन ट्रम्पले भरमुग्दर प्रयास गरिरहेका छन् ।
रुस र युक्रेनबीचको अविश्वास, क्षेत्रीय दाबी र नरोकिएको आक्रमणले शान्ति प्रक्रियालाई जटिल बनाएको छ । युक्रेनले रुसले कब्जा गरेका क्षेत्रलाई रुसी नियन्त्रणमा राख्ने मान्यताको विरोध गरेको छ । रुसले भने युक्रेनको नागरिक पूर्वाधारमाथिको आक्रमणलाई जायज ठानिरहेको छ ।