माधव सापकोटा
चैत्र २७ ,चितवन
हरिकीर्तन धार्मिक संस्था /लक्ष्मीवेङ्कटेश मन्दिर, भरतपुर -४, हरिकीर्तनचोक , लङ्कु, चितवनद्वारा एकवर्षीय अखण्ड हरिनाम संकीर्तन स्मारक एवम् अतिथि गृह उद्घाटनका लागि गत फागुन १ देखि ९ गतेसम्म सञ्चालित श्रीमद्भागवत ज्ञान महायज्ञ २०८१ को आय-व्यय सार्वजनिक गरिएको छ।
मन्दिर परिसरमा आज एक भेला गरी आय-व्यय विवरण प्रस्तुत गरिएको हो। महायज्ञमा नगद र बोलकबोल गरी जम्मा दुई करोड चालिस लाख बयासी हजार चार सय अठार रुपैयाँ रकम संकलन भएको,छत्तीस लाख उनान्नब्बे हजार चौबिस रुपैयाँ रकम खर्च भएको र खर्च कटाएर दुई करोड तीन लाख त्रियानब्बे हजार तीन सय चौरानब्बे रुपैयाँ रकम बचत भएको महायज्ञ सम्पादन मूल समितिका कोषाध्यक्ष ताराप्रसाद कँडेलले जानकारी दिनुभयो।
महायज्ञबाट बचत भएको शेष रकमलाई अक्षयकोषमा राखी त्यसको ब्याजले व्यवस्थित ढंगले मन्दिर संचालन गर्ने संयोजक टीकाराम कँडेलले बताउनुभयो ।
मूल समितिका सह- संयोजक फूलनाथ निउरेले कार्यक्रम संचालन गर्नुभएको भेलामा मन्दिरका अध्यक्ष एवम् पीठाधीश स्वामी अनन्तप्रपन्नाचार्य” अखण्ड बाबा”, भरतपुर -४ का वडा सदस्य राधादेवी कँडेल लगायतको उपस्थिति रहेको थियो।