चितवन, चैत ६ –
चितवनस्थिति त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस वीरेन्द्र बहुमुखीमा आगजनीको प्रयास गरिएको छ ।
यही चैत्र ५ गते हुने भनिएको स्ववियु चुनाव विभिन्न ५ संगठनको असन्तुष्टिलाई कारण देखाउँदै निर्वाचन समितिले स्थगन गरेको थियो ।
नेकपा (एकीकृत समाजवादी) निकटको अनेरास्ववियू, जसपा निकटको समाजवादी विद्यार्थी युनियन, विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकटको अखिल समाजवादी, नेकपा बहुमत निकटको अखिल क्रान्तिकारी र लोसपा निकटको लोकतान्त्रिक विद्यार्थी संघले असन्तुष्ट जनाउँदै चैत्र २ गते तालाबन्दी गरेका थिए । प्रहरी प्रशासनको सहयोगमा ४ गते बिहान उक्त ताला फुटालिएको भए पनि निर्वाचन समितिले चुनाव स्थगन गरेको थियो ।
आज पुनः निर्वाचन समितिले ९ गते चुनाव गराउने सूचना निकालेको थियो ।
अर्काे मिति तोकिएपछि आज राति ८ बजेतिर क्याम्पसमा ठूलो आगोको मुस्लो देखिएको एक स्थानीयले बताए । चितवन आजलाई प्राप्त तस्विर अनुसार पेट्रोल बम प्रहार गरिएको जस्तो देख्न सकिन्छ । यस बारेमा चितवन प्रहरीसँग बुझ्दा चितवन प्रहरी प्रमुख राजन लिम्बुले अहिलेसम्म आगजनी प्रयासको कुनै जानकारी प्राप्त नभएको बताए ।
चुनाव समयमा गराउन नसकेपछि एमाले निकटको अनेरास्ववियुले आज एक विज्ञप्ति निकाल्दै निर्वाचन अधिकृत र क्याम्पस प्रमुखको राजीनामा माग गरेको छ भने काँग्रेस निकटको नेविसंघले ४ गते राति विज्ञप्ति निकाल्दै निर्वाचनको नयाँ मिति घोषणा गर्न २४ घण्टे अल्टिमेटम दिएको थियो ।