काठमाडौं, फागुन २१-
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघिल्लो सरकारले ४ वर्षमा नगरेको काम आफूले ४३ दिनमै गरेको दाबी गरेका छन् । अमेरिकी संसद (कांग्रेस)को संयुक्त बैठकलाई सम्बोधन गर्दै ट्रम्पले पूर्वराष्ट्रपति जो बाइडेनलाई अमेरिकी इतिहासकै सबैभन्दा खराब राष्ट्रपतिको संज्ञा दिए । अमेरिका इज ब्याकबाट भाषण शुरू गरेका उनले बाइडेनको निर्णयका कारण लाखौं आप्रवासीले अमेरिका प्रवेश गर्ने अवसर पाएको बताए ।
‘मेरो सबैभन्दा ठूलो प्राथमिकता अमेरिकी अर्थतन्त्रलाई बचाउनु राहत प्रदान गर्नु हो । हामीले आर्थिक विनाश र मुद्रास्फीतिको दुःस्वप्न बाइडेन प्रशासनबाट विरासतमा पाएका छौं । बाइडेनको नीतिहरूले ऊर्जाको मूल्य बढाएको छ, सामानहरू महँगो बनाएको छ र लाखौं अमेरिकीहरूको पहुँचबाट बाहिर राखेको छ, म यो क्षतिलाई उल्टाउन र अमेरिकालाई फेरि सस्तो बनाउन लडिरहेको छु, उनले भने ।
ट्रम्पले अमेरिकामा अभिव्यक्ति स्वतन्त्रता फिर्ता ल्याउने दाबी गरे । ‘हामीले सरकारी सेन्सरशिप पूर्ण रूपमा बन्द गरेका छौं र अमेरिकामा अभिव्यक्ति स्वतन्त्रता फिर्ता ल्याएका छौं, उनले भने, मैले पदभार ग्रहण गर्नेवित्तिकै सबै संघीय भर्ती, नयाँ संघीय नीति र विदेशी सहायतामा तत्काल प्रतिबन्ध लगाएको छु । ट्रम्पले दक्षिणी सीमामा राष्ट्रिय आपतकाल घोषणा गरेको स्मरण गरे ।