चितवन, फागुन ९ –
भारतको ओडिसाको कलिगां इन्सिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको न्यायका लागि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सप्तगण्डकी क्याम्पस भरतपुर चितवनले प्रदर्शन गरेको छ ।
बिहिबार साँझ क्याम्पस कमिटी अध्यक्ष प्रकाश सिलवालको नेतृत्वमा क्याम्पस अगाडि प्रदर्शन गर्दै अनेरास्ववियुले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारवाही गर्न ध्यानाकर्षण गराएको छ । अनेरास्ववियुले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षाको समेत माग गरेको छ । प्रदर्शनपश्चात प्रकृतिको सम्झनामा दीप प्रज्वलन गरिएको थियो ।
केआईआईटी विश्वविद्यालयको कलेजमा बी–टेक अध्ययन गरिरहेकी प्रकृति गत आइतबार होस्टलको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । लम्सालको गृहजिल्ला रुपन्देही ल्याएर हिजो बिहिबार अन्त्येष्टि गरि सकिएको छ ।
उनको न्यायको माग गर्दै नेपाली विद्यार्थीले प्रदर्शन गर्दा केआईआईटी कलेज प्रशासनले दमन गरेपछि यसको देश विदेशमा विरोध भइरहेको छ ।
सोही कलेजमा अध्ययनरत भारतकै विद्यार्थी अड्विक श्रीवास्तवले दिने गरेको मानसिक यातनामा कजेल प्रशासन मौन रहनु प्रकृतिको मृत्युको कारण भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
प्रकृतिका आफन्त सिद्दान्त सिग्देलले कलेज प्रशासनलाई अड्विक श्रीवास्तवले पटकपटक दिइरहेको मानसिक यातनाबारे प्रमाणसहित दुई पटक उजुरी दिँदा पनि कुनै सुनुवाइ नभएको बताएका थिए ।
प्रकृति मृत अवस्थामा भेटिएपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरुले न्यायको माग गर्दै प्रदर्शन गरेका थिए । त्यसपछि कलेज प्रशासनले नेपाली विद्यार्थीहरुमाथि कुटपिट र दुव्र्यवहार गर्दै घर फर्किन भनेको थियो ।
तर नेपाल सरकारको कूटनीतिक पहलपछि विश्वविद्यालय प्रशासनले माफी माग्दै नेपाली विद्यार्थीहरुलाई फर्किएर पढाइ जारी राख्न भनेको थियो । उसले नेपाली विद्यार्थीहरुलाई लक्षित गरी हेल्पडेस्क समेत स्थापना गरेको छ ।