चितवन, पुष २८ –
नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा आयोजित १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।
महोत्सवमा रोजगार मेला समेत आयोजना गरिएको छ । रोजगार दाता र बेराजगारहरुलाई भेटघाट गराउने उद्देश्यले रोजगार मेला आयोजना गरिएको हो । भरतपुर महानगरपालिका र उद्योग वाणिज्य संघ चितवनले मेलाको आयोजना गरेका हुन् । रोजगार मेलाबाटै पनि जागिर उपलब्ध गराइने उवासंघका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी दिए । रोजगार मेलामा बेराजगार र रोगगारदाताको तथ्यांक समेत संकलन भइरहेको छ ।
कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनको प्रवद्र्धन गर्दै यस क्षेत्रको आर्थिक पुनरुत्थानमा सहयोग पुर्याउने उद्देश्यले आयोजित चितवनको गौरव र गरिमामय प्रस्तुती चितवन महोत्सव २०८१ पुष २५ बाट सुरु भएको थियो भने माघ १० गतेसम्म चल्ने छ ।
महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय तथा राष्ट्रिय कलाकारहरुले महोत्सव घुम्न आएकाहरुलाई थप मनोरञ्जन गराइरहेका छन् ।
महोत्सवमा सांस्कृतिक कार्यक्रमसहित नृत्य प्रतियोगिता, दोहोरी प्रतियोगिता, विभिन्न खेलकुदका प्रतियोगिता, गोष्ठी लगायतका अतिरिक्त गतिविधिहरु समेत भइरहेका छन् भने भनि कतिपय अब हुनेछन् । स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रदर्शक गरी ४३० भन्दा बढी स्टल रहेको चितवन महोत्सव उल्लासमय तरिकाले चलिरहेको छ । महोत्सवमा फिस टनेल, मनोरञ्जन पार्कहरु पनि रहेका छन् । जसले महोत्सवलाई थप आकर्षण थपिरहेको छ ।
महोत्सव बिहान १० बजेबाट बेलुका ६ बजेसम्म सञ्चालन भइरहेको छ । महोत्सवको टिकट शुल्क सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ ।