फागुन ५ , चितवन
माधव सापकोटा
भरतपुर–४,हरिकीर्तनचोक,लंकुस्थित हरिकीर्तन धार्मिक संस्था(लक्ष्मीवेङ्कटेश मन्दिर)मा जारी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०८१ मा संस्थापक अध्यक्ष अखण्ड हरिकीर्तन बाबा उमानाथ कँडेललाई आचार्य (महन्त )मा पट्टाभिषेक गरिएको छ।
मुक्तिनाथ पीठाधीश्वर कमलनयनाचार्य/ मुक्तिनाथ बाबा, नेपाल सन्त समाजका केन्द्रीय अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वती, प्रधान यज्ञाचार्य नारायणाचार्य/ टीकाराम गुरु, लक्ष्मीवैकुण्ठनाथ मन्दिर लंकुका पीठाधीश स्वामी जगन्नाथाचार्य, लक्ष्मीनारायण मन्दिर देवघाटका पीठाधीश श्रीधराचार्य , प्रमुख कथावाचक स्वामी डा. चक्रपाणि आचार्य , शुकदेव भागवत आश्रम गैंडाकोटका पीठाधीश लक्ष्मणाचार्य, स्वामी श्रीनिवासाचार्य लगायतका विशिष्ट विद्वान् सन्त- महन्तहरूको उपस्थिति रहेको कार्यक्रममा मुक्तिनाथ बाबाबाट एकवर्षीय हरिकीर्तन स्मारक एवम् टीकाराम गुरुबाट अतिथि-गृहको उद्घाटन गरिएको थियो।
महायज्ञको पाँचौ दिन आज हजारौं भक्तजनहरूको सहभागिता रहेको थियो ।
महायज्ञमा अहिलेसम्म नगद तथा बोलकबोल गरी १ करोड २० लाख भन्दा बढी रकम संकलन भएको आर्थिक संयोजक भानुभक्त कंडेलले जानकारी दिनुभयो।महायज्ञको अन्तिम दिन ९ गते करोड दीप प्रज्वलनको कार्यक्रम रहेको छ।