चितवन, फागुन ४
भरतपुर मनपा–११ स्थित कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्रमा यही फागुन ५ गतेदेखी १५ गतेसम्म शिव, पार्वती भगवानको प्राणप्रतिष्ठा एवं पुजन महोत्सव हुने भएको छ ।
मन्दिर परिसरमा निर्माण गरिएको अष्ठोत्तरशत शिवलिङ्ग, पन्चमुखी शिव, शेषनाग, शिवपावर्ती समेतका मुर्ती, कैलाश पर्वत र नागकुन्डको प्राणप्रतिष्ठा एवं पुजन महोत्सव कार्यक्रम हुने भएको कमलादेवी मन्दिर प्राकृतिक आरोग्यकेन्द्रका अध्यक्ष बुद्धिसागर भण्डारी ‘मृदुल’ ले जानकारी दिए ।
कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्रको संस्थागत विकास तथा धार्मिक श्रीबृद्धिका लागि गत २०७९ चैत ८ देखी १६ गतेसम्म श्रीमद्देवीभागवत नवाल भक्तिज्ञान महायज्ञ आयोजना गरिएको थियो । उक्त महायज्ञमा संकलित रकमबाट मन्दिर परिसरमा शिव पार्वतीको मुर्ती सहित विभिन्न संरचनाहरु निर्माण गरिएको छ ।
महाशिवरात्रीको अवसरमा धार्मिक महोत्सवको आयोजना गरि उक्त सबै मुर्तीहरुको प्राणप्रतिष्ठान र पुजन कार्यक्रम आयोजना गरिएको अध्यक्ष भण्डारीले बताए । उक्त कार्यक्रममा सहभागी भई पुराण श्रवण गरि उक्त धार्मिक अनुष्ठानको सोभा बढाईदिनुहुन अध्यक्ष भण्डारीले सबैमा अनुरोध गरेका छन् ।