माधव सापकोटा
चितवन, माघ ३० –
भरतपुर–४,हरिकीर्तनचोक, लंकुस्थित हरिकीर्तन धार्मिक संस्था / लक्ष्मीवेङ्कटेश मन्दिरमा फागुन १ देखि ९ गतेसम्म चल्ने श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०८१ को तयारी पूरा भएको छ।
महायज्ञको भोलि शान्तिधाम काभ्रेस्थलीका पीठाधीश स्वामी चतुर्भुजाचार्य “चूडामणि महाराज” ले समुद्घाटन गर्ने कार्यक्रम रहेको मूल समितिका सह- संयोजक फूलनाथ निउरेले जानकारी दिनुभयो ।
उद्घाटन हुनुअघि बिहान १० बजेदेखि धार्मिक, सामाजिक, शैक्षिक , जातीय लगायत विभिन्न संघ–संस्थाको पहिचान झल्कने वेशभूषा, ब्यानर, ॐकार झण्डासहितको शोभा–कलशयात्राको कार्यक्रम रहेको मूल समितिका सचिव भागवत कंडेलले बताउनुभयो।
महायज्ञ नाङ्लिवाङ् , पर्वतका स्वामी नारायणाचार्य/ टीकाराम गुरुको प्रधान आचार्यत्व, संस्थाका अध्यक्ष अखण्ड हरिकीर्तन बाबा उमानाथ कंडेलको सत्संकल्प एवम् डा. चक्रपाणि आचार्यको प्रमुख वाचकत्वमा सम्पन्न हुने आयोजक समितिले जनाएको छ।
यज्ञशेषबाट अक्षयकोष अभिवृद्धि गरी नित्य भगवत्पूजा- आराधना एवम् मन्दिरलाई सुव्यवस्थित ढंगले संचालन गर्नु महायज्ञको उद्देश्य रहेको संयोजक टीकाराम कंडेलले बताउनुभयो।महायज्ञअन्तर्गत फागुन २ गते सामूहिक व्रतबन्ध र तुलादान ,फागुन ५ गते कमलनयनाचार्य / मुक्तिनाथ बाबाबाट एकवर्षीय अखण्ड श्री हरिनाम संकीर्तन स्मारकको उद्घाटन, संस्थापक अध्यक्ष अखण्ड हरिकीर्तन बाबा उमानाथ कँडेललाई आचार्य / महन्त पदमा पट्टाभिषेक,प्रधान यज्ञाचार्य टीकाराम गुरुबाट अतिथि गृहको उद्घाटन एवम् फागुन ९ गते करोड दीप प्रज्वलनको कार्यक्रम रहेको छ।
यसैबिच महोत्सवको पूर्व सन्ध्यामा हजारौं भक्तजनहरूको सहभागितामा आज मोटर साइकल तथा गाडी र्याली सम्पन्न भएको छ।
मन्दिर परिसरबाट सुरु भएको र्यालीले अद्वैतचोक-धारापानीचोक-वैकुण्ठचोक – सहिदचोक- चौबिसकोठी- -धर्मचोक-आनन्दचोक- चाणक्यचोक- -नवदुर्गाचोक जानकीचोक हुँदै हरिकीर्तनचोक मन्दिरमा आएर समापन भएको थियो।