काठमाडाैं माघ २४,
सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग ५४ लाख रूपैयाँ धरौटी मागेको छ ।
बिहीबार भएको थुनछेक बहसपछि जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले रविसँग ५४ लाख रूपैयाँ धरौटी माग्ने आदेश गरेको हो ।
चितवनस्थित साहारा चितवन सहकारी ठगी मुद्दामा बिहीबार थुनछेक बहस सकिएको हो । यसअघि बुधबार थुनछेक बहस नसकिएपछि रविलाई न्यायिक हिरासत पठाइएको थियो ।
मुद्दामा सरकारी वकिलको तर्फबाट जिल्ला न्यायाधिवक्ताहरू रवि न्यौपाने, शम्भुकुमार बस्नेत, दशरथ पंगेनी, भोलानाथ निरौला सहायक जिल्ला न्यायाधिवक्ताहरू बुद्धबहादुर थापा र अमृत सुवेदीले बहस गरेका थिए ।
यसैगरी, जाहेरवालाहरूका तर्फबाट वरिष्ठ अधिवक्ताहरू डा सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी र राजकुमार श्रेष्ठ, अधिवक्ताहरू गोपीलाल देवकोटा, रमेश काफ्ले, रामचन्द्र (आरसी) गौतम र सुनिता अधिकारीले बहस गरेका थिए ।
प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू शुशिलकुमार पन्त, जगन्नाथ पौडेल, धर्मराज आचार्य र सुरेन्द्रबहादुर थापा तथा अधिवक्ताहरू रामचन्द्र देवकोटा र डा नारायणदत्त कँडेलले बहस गरेका थिए ।
यसअघि रवि सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा कास्कीबाट ६५ लाख, स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा काठमाडौंबाट ६० लाख र सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा रुपन्देही अदालतबाट १ करोड धरौटीमा छुटेका थिए ।