काठमाडौं, माघ २४ –
सुर्तीजन्य पदार्थको प्याकेटमा अब शतप्रतिशत चेतावनीमूलक सन्देश छाप्नुपर्ने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर्स, पेटी तथा पार्सल, प्याकेजिङ्गमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका, २०८१’ पारित गरेको हो । निर्देशिका बमोजिम अब सुर्तीजन्य पदार्थको प्याकेटमा स्वास्थ्यलाई असर गर्ने चेतावनीमूलक चित्र र सन्देश छाप्नुपर्ने भएको हो ।
निर्देशिका अनुसार चुरोट तथा सुर्तीजन्य पदार्थका बट्टा तथा प्याकेटहरुको मुख्य भागको अगाडि र पछाडिको शतप्रतिशत भागमा घातक रंगीन चित्र र चेतावनीमूलक सन्देश अनिवार्य छाप्नुपर्ने व्यवस्था छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले नसर्ने रोगका मुख्य कारकमध्ये एक सुर्तीजन्य पदार्थको सेवन रहेको उल्लेख गर्नुहुँदै त्यसलाई निरुत्साहित गर्न यस्तो निर्णय गरिएको बताउनुभयो । ‘हामीले निरोगी नेपाल बनाउन विभिन्न अभियान चलाइरहेका छौँ । बिरामी हुँदा उपचार गर्ने राज्यको दायित्व हो। तर बिरामीको सङ्ख्या बढ्दै जाँदा सबैको निःशुल्क उपचार गर्न नसकिने अवस्था पनि हुन्छ’, उहाँले भन्नुभयो, ‘नागरिकलाई कसरी निरोगी बनाउने तथा रोग लागेको अवस्थामा पनि कम खर्चमै उपचार सेवा दिने भन्ने मुख्य कुरा हो। त्यही प्रयासको एउटा नतिजा यो निर्देशिका हो।’
सुर्तीजन्य पदार्थका प्याकेटमा देखिने चेतावनीमूलक चित्र तथा सन्देशले त्यसको सेवनमा निरुत्साहित गर्ने विश्वास मन्त्री पौडेलले व्यक्त गर्नुभयो ।