चितवन, माघ २३ –
नेकपा एमाले चितवनले तीन महिने वडा केन्द्रित अभियान सुरु गरेको छ । आज पार्टी कार्यालयमा एमालेको तीन महिने वडा केन्द्रित अभियानको अनुशिक्षण तथा जिल्ला कमिटी चितवनको पाँचौ पूर्ण बैठकबाट अभियान सुरु गरिएको हो ।
अभियानका लागि चितवनका ९८ वटा वडा र ३ शाखा कमिटी गरी १०१ वटै कमिटीका लागि आजको बैठकले उत्पे्ररक तोकेर अभियानमा खटाएको छ ।
सबै वडा कमिटीहरुले एक हप्ताभित्र बैठक राखी केन्द्र, प्रदेश र जिल्लाको सर्कुलरलाई आधार मानि अभियान सञ्चालन गराउन बैठकले निर्देशित गरेको एमाले प्रचार विभाग प्रमुख प्रकाश आचार्यले जानकारी दिए । केन्द्रका नेताहरुले अभियानको अनुगमन गर्ने छन् भने र प्रदेश तथा जिल्ला तहका नेताहरुले उत्पे्ररक भई अभियान सञ्चालन गर्न समन्वय गर्ने आचार्यले बताए ।
एमाले चितवनका अध्यक्ष कमलराज पाठकले अभियान अन्तर्गत विभिन्न गतिविधिहरु हुने बताए । अभियान अन्तर्गत २०८२ को नवीकरण, मोबाइल एप्स इन्ट्री, टोल कमिटी गठन र पुनः गठन, मतदाता संख्याको आधारमा ६ प्रतिशत पार्टी सदस्य, पार्टी सदस्यको घर परिवारका सदस्यसँग भेटघाट, पुराना जोगाउ नयाँ बनाउ अभियान लगायतका विविधि गतिविधि तीन महिने अभियानका क्रममा हुनेछन् ।
अभियानका लागि आज एमाले स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेश इन्चार्ज डा राजन भट्टराईले अनुशिक्षण दिएका छन् । अनुशिक्षण दिँदै उनले अभियानमा सक्रियरुपमा लाग्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए । एमाले सरकारले गरेका कामहरुका बारेमा जनतालाई बुझाउँदै एमालेप्रतिको जनविश्वास अझै बढाउने गरी अभियानमा लाग्न उनले निर्देशित गरेका छन् ।