काठमाडाैं, माघ १७ –
अमेरिकाको वासिङ्टन डीसीमा अमेरिकन एयरलाइन्सको विमान आकाशमै हेलिकप्टरसँग ठोक्किएको छ ।
स्थानीय समयानुसार राति ९ बजे विमान र हेलिकप्टर ठोकिएर रेगन वाशिंगटन राष्ट्रिय विमानस्थल नजिकै पोटोम्याक नदीमा दुर्घटना भएको बीबीसीले जनाएको छ ।
डीसी फायर र ईएमएस विभागका अनुसार विमान डीसी हुँदै बग्ने पोटोम्याक नदीमा दुर्घटनाग्रस्त भएको थियो ।
वाशिंगटन डीसीको आपतकालीन उद्धार टोली रेगन राष्ट्रिय विमानस्थलमा पुगेको छ । त्यहाँ धेरै एम्बुलेन्स र दमकलहरू देखिएको बीबीसीको समाचारमा उल्लेख छ ।
यात्रुवाहक विमानसँग ठोक्किएको हेलिकप्टरमा ३ जना सैनिक सवार थिए । उनीहरू चालक दलकै सदस्य रहेको सीएनएनले जनाएको छ । विमानमा ६० यात्रु र ४ जना चालक दलका सदस्य थिए ।
रेगन एयरपोर्टमा हाल सबै उडानहरू रोकिएका छन् । अमेरिकी संघीय उड्डयन प्रशासनका अनुसार यसबारे थप अनुसन्धान भैरहेको छ ।