चितवन, माघ ८ –
चितवनमा ३१ हजार भन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने भएको छ ।
जिल्लाका ७ वटै स्थानीय तहका विद्यालयभित्र र विद्यालय बाहिर रहेका ३१ हजार ५७० किशोरीलाई एचपिभी खोप लगाइने स्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरिक्षक राम केसीले जानकारी दिनुभयो । विद्यालयमा रहेका कक्षा ६ देखि कक्षा १० सम्मका किशोरी र विद्यालयबाहिर रहेका १० देखि १४ वर्षसम्मका किशोरीलाई खोप लगाइने उहाँले बताउनुभयो ।
कक्षा ६ देखि १० सम्म अध्ययन हुने हरेक विद्यालयमा खोप केन्द्र सञ्चालन गरेर ती कक्षाका सबै छात्राहरूलाई एच.पि.भी. खोप दिने व्यवस्था मिलाइएको भेक्टर कन्ट्रोल निरिक्षक केसीले बताउनुभयो ।
विद्यालयको पहुँचबाहिर रहेका १० देखि १४ वर्षसम्मका किशोरीहरू र छुट भएका कक्षा ६ देखि १० सम्मका छात्राहरूलाई अभियानको अन्तिम दिन स्वास्थ्य संस्थाबाट एच.पि.भी. खोप दिइनेछ । यस्तै विद्यालय नभएका गाउँ, टोल र पिछडिएका वर्ग/समुदायको पहुँचको लागि थप खोप केन्द्रबाट एच.पि.भी. खोप अभियान सञ्चालन हुने महिनामा एच.पि.भी. खोप दिने व्यवस्था गरिएको छ ।
एचपिभी खोप कार्यक्रम माघ २२ देखि फागुन ३ गतेसम्म चल्नेछ ।