चितवन, २५ पुसः
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग क्षेत्रमा लगानी मैत्री वातावरण बनेकाले ढुक्कसँग लगानी गर्न आग्रह गर्नुभएको छ ।
आजदेखि यहाँ सुरु भएको १५औँ चितवन महोत्सवको उद्घाटन गर्दै उहाँले कानुनमा रहेका समस्या समाधान गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सरकारले लगानी भित्र्याउन आवश्यक वातावरण बनाएको छ । ढुक्क भएर लगानी गर्दा हुन्छ ।” विगतमा लगानी सम्मेलन भए पनि अपेक्षाकृत लगानी भित्र्याउन नसकिएको बताउँदै उहाँले आगामी लगानी सम्मेलनबाट उपलब्धि हासिल हुनसक्ने बताउनुभयो । नीतिगत समस्या समाधान गरी अघि बढ्न सरकारले काम गरिरहेको उहाँको भनाई थियो ।
उहाँले विभिन्न समयमा हुने यस्ता मेला महोत्सवले देशको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने बताउनुभयो । बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्ण सिलवालले उद्योगीको हकहितका लागि काम गर्न तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “उद्योगीको समस्या समाधान गर्न प्रदेश सरकारले सहुलियतमा ऋण प्रदान गर्न बजेटबाटसमेत सम्बोधन गरेको छ ।”
सो अवसरमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले निजी क्षेत्रसँग सहकार्य गरेर गरिएका हरेक कार्यक्रम प्रभावकारी हुने गरेको उल्लेख गर्दै यस्ता मेला महोत्सवले जिल्लाको मात्रै नभएर समग्र देशको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने बताउनुभयो ।