चितवन, पुष १९ –
भूमि समस्या समाधान आयोगका अध्यक्ष हरि रिजालले अब सुकुम्बसीलाई जग्गा जसरी पनि दिने गरी तयारी गरिएको बताएका छन् ।
नेकपा (एमाले) चितवनको पार्टी कार्यालयमा आज आयोजित स्थानीय जनप्रतिनिधि पालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र पार्टीका नेता कार्यकर्तासँग अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘समस्या थुप्रै छन् तर जहाँ जे समस्या आउँछ त्यसलाई त्यहीँ समाधान गर्दै जान्छौं, उनी भन्छन् । यस अघिका आयोगले जहाँसम्म काम गरेका छन् त्यहीँबाट कामलाई निरन्तरता दिने उनले बताए । अब जिल्लामा पनि आयोग गठन गरेर काम थालिहाल्ने तयारीमा रहेको अध्यक्ष रिजालले बताए ।
कानुन नै संसोधन गर्नुपर्ने जटिलता बाहेकका अरु सबै जग्गामा लालपुर्जा प्रदान गरिने उनको भनाइ छ । ऐन परिवर्तन, नियमावली परिवर्तन गर्नुपर्ने समस्याहरु पनि रहेको बताउँदै उनले यी समस्याले रोक्ने बाहेकका अरु जग्गामा लालपुर्जा बाँड्ने गरी तयारी थालि हाल्ने बताएका हुन् ।
आयोगले समस्या समाधान गर्न सक्ने जति आयोगबाटै गर्ने बताउँदै उनले आयोगले नसके मन्त्रिपरिषद् र मन्त्रिपरिषद्ले पनि नसक्ने लाखको समस्या भए संसदलाई भनेर भए पनि समस्या समाधान गरिने बताए । देशका ठूला राजनीतिक दल मिलेर सरकार चलाइरहेको बेला पनि जनताले लालपुर्जा पाउन नसके जनतामा राजनैतिक दलप्रतिको विश्वास झनै गुम्ने खतरा रहेको उनले औंल्याए ।
लालपुर्जा प्रदान गर्न ऐन नै संसोधन गर्न पनि दलहरु तयार हुनुपर्ने उनको भनाइ छ ।
वडाअध्यक्षहरुको भूमिक सबैभन्दा बढी जिम्मेवार रहेको बताउँदै अध्यक्ष रिजालले सुकुम्बासीको पहिचानमा वडाअध्यक्षले निकै चनाखो भएर लाग्नुपर्ने बताए । गलत गरेमा वडाध्यक्षलाई कैद सजायसम्म हुन सक्ने व्यवस्था रहेकोतर्फ सचेत गराउँदै अध्यक्ष रिजालले वडाध्यक्षहरुले राम्रोसँग साथ दिएमा लालपुर्जा वितरणको काम अझै तीव्र हुने बताएका छन् ।
कार्यक्रममा वक्ताहरुले भूमि सम्बन्धि आफ्ना स्थानका समस्याहरु सुनाएका थिए । विशेष गरी वन क्षेत्रको जग्गामा रहेका सुकुम्बासीको समस्या समाधान गर्न निकै जटिल रहेको वक्ताहरुले बताएका छन् ।
कार्यक्रममा आयोगका केन्द्रीय सदस्य गुन्ज खड्का, विज्ञ सदस्य जगत बस्नेत र नेकपा एमाले चितवनका अध्यक्ष कमल राज पाठकले बोलेका थिए ।