चितवन, १८ पुसः
चितवनमा यही पौष २५ देखि माघ १० गतेसम्म नारायणी नदी किनारमा १५औं चितवन महोत्सव २०८१ हुने भएको छ।
चितवनको गौरव र गरिमामय प्रस्तुती नाम दिएर हुँदै आएको चितवन महोत्सव नारायणी नदी किनारमा हुने आयोजक उद्योग वाणिज्य संघ चितवनले बिहीबार नारायणगढमा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको छ।
प्रत्येक २/२ वर्षमा हुँदै आएको महोत्सवले जिल्लाको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत समग्र आर्थिक, सामाजिक र सांस्कृतिक विकासका साथसाथै व्यवसायको प्रवर्द्धनमा टेवा पुर्याउनुका साथै चितवनको गरिमा र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने उद्देश्यले आयोजना गरिने यसपटकको महोत्सवमा ४३० स्टल रहने उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले जानकारी दिए।
महोत्सवको टिकट शुल्क सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैँया तोकिएको छ। त्यस्तै टिकट भौतिकरुपमा र अनलाइनबाट समेत खरिद गर्ने व्यवस्था मिलाएको उनले बताए। महोत्सवमा आन्तरिक तथा वाह्य पर्यटकसहित करिब ५ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजक समितिले गरेको छ। १५ दिनको अवधिमा करिब ३० करोडभन्दा माथिको कारोवार हुने अनुमान गरिएको छ। आर्थिक मन्दीका कारण विक्षिप्त बनेको अर्थ क्षेत्रलाई यस वर्षको महोत्सवले थप उर्जा दिने अपेक्षा गरिएको उनले बताए।
परम्परागत खानाको प्रवर्द्धनका लागि विगतका महोत्सवहरूमा सञ्चालन हुँदै आएको फुड फेस्टिवललाई यस वर्ष पनि निरन्तरता दिएको आयोजकले जनाएको छ। पौष २८ देखि माघ ७ गतेसम्म नारायणगढकै क्याम्पाचौरमा फेस्टिवल सञ्चालन गर्ने कार्यक्रम रहेको अध्यक्ष श्रेष्ठले बताए।
महोत्सव परिसरमा हुन सक्ने दुर्घटना तथा विपद्लाई मध्यनजर गर्दै महोत्सव अवधिभर एम्बुलेन्सको, उद्धार टोली, प्राथमिक उपचार केन्द्र, प्रत्येक दिन स्वास्थ्य शिविर, नि:शुल्क स्वास्थ्य परीक्षणलगायतका कार्यक्रमहरु आयोजना गरिने अध्यक्ष श्रेष्ठले बताए।