भरतपुर, पुस १५
मिसन रेड अभियानको आयोजनामा आज भरतपुरको चौविसकोठीमा रक्तदान सम्बन्धि सचेतनामुलक स्टिकर अभियान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम मिसन रेडका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षता एवं बागमती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री विजय सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सो अभियानका अवसरमा लोकल तथा लामो दूरीका सवारी साधनहरुमा ६ सयवटा साना ठूला स्टिकर टाँस गरिएको थियो ।
मिसन रेड अभियानमार्फत डिजिटल प्लेटफर्मबाट पनि सचेतनामूलक कार्यक्रमहरु सञ्चालन भइरहेको छ । देशभर देखिएको चरम रक्तअभाव समाधान गर्न एसडी फाउन्डेसनले ब्लड डोनर्स सोसाइटी नेपालको सहकार्यमा २०८१ देखि सो अभियान सञ्चालन गरेको हो ।
मिसन रेडले हालसम्म रक्तदान कार्यक्रम तथा सचेतनामूलक कार्यक्रमहरु सम्पन्न गरिसकेको र पौष १९ गते भरतपुर अस्पताल परिसरमा मेरो पहिलो रक्तदान कार्यक्रम आयोजना गरेको अध्यक्ष अधिकारीले जानकारी दिए ।
कार्यक्रममा जनस्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत गुरु कँडेललगायत विभिन्न संघसंस्थाका अध्यक्ष एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।