हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, पुष १० –
आगामी जनवरी १८ बाट मलेसियामा हुने आइसीसी यु १९ वमेन टि–ट्वान्टी वल्र्डकप २०२५ को अन्तिम तयारीका लागि नेपाली क्रिकेट यु १९ महिला टिमको बन्द प्रशिक्षण सुरु भएको छ ।
चितवनको रामपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना खेल मैदानमा आजबाट १२ दिने बन्द प्रशिक्षण सुरु गरिएको हो ।
बन्द प्रशिक्षणका लागि आएको महिला टिमलाई नेपाल क्रिकेट संघ चितवनले स्वागत गर्याे । स्वागत कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारी पनि पुगे ।
महिला टिमलाई स्वागत गर्दै प्रमुख दाहालले बन्द प्रशिक्षणका खेलाडीहरुलाई भरतपुर ल्याइएको प्रति खुसी व्यक्त गरिन् । राष्ट्रिय स्तरको बन्द प्रशिक्षण यहाँ हुँदा रंगशाला छिटो निर्माण गर्नुपर्ने दबाब समेत सृजना भएको उनले बताइन् ।
नेपाल क्रिकेट संघ चितवनका अध्यक्ष सुदिप पियाले गौतम बुद्ध रंगशालाको नमुना मैदानबाटै यु १९ खेल्ने खेलाडीको छनौट भएको स्मरण गर्दै अब यही मैदानबाट अन्तिम तयारी हुने बताए ।
यु १९ महिला टिमकी कप्तान पुजा महत्तोले टिम राम्रो भएको बताउँदै वल्र्डकपमा राम्रो नतिजा निकालेर सुपर सिक्समा जसरी पनि पुग्ने लक्ष्य राखिएको बताइन् ।