भरतपुर, पुस ३ –
नेकपा एकीकृत समाजवादी चितवन जिल्ला कमिटीका सदस्य एवं युवा संघ नेपाल, चितवन जिल्ला कमिटी अध्यक्ष हर्कबहादुर तामाङ (सुजन) माथि हिजो मंगलबार आक्रमण भएको छ ।
तामाङमाथि आक्रमण गर्नेलाई कारबाही गर्न नेकपा एस निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले माग गरेको छ ।
अनेरास्ववियूका चितवन जिल्ला कमिटी अध्यक्ष पानस तमाङ (पारस)ले आज बुधबार प्रेस विज्ञप्ति जारी गरी घटना प्रति गम्भीर ध्याकर्षण भएको बताएका छन् ।
मंगलबार वेलुका ८ः३० बजे राप्ती नगरपालिका वडा नम्बर ७ विरेन्द्रनगर चोकमा पारिवारिक भेट गरी गाडीमा बसेको अवस्थामा अज्ञात समुहद्वारा तामाङमाथि नियोजित ढंगबाट ज्यान मार्ने उदेश्यका साथ धारिलो हतियार प्रयोग गरी सांघातिक आक्रमण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
आक्रमणबाट गाडीमा समेत क्षति पुगेको उनले बताए । उक्त आपराधिक कार्यमा संलग्न दोषीलाई तत्काल नियन्त्रणमा लिई कडा भन्दा कडा कारबाही गर्न अनेरास्ववियूले माग गरेको छ ।