काठमाडौं, मंसिर २८ –
बसिर अहमेदको अर्धशतकप्रेरित विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजलाई १८२ रनको लक्ष्य दिएको छ ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको विराटनगरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १८१ रनको योगफल खडा गर्यो ।
विराटनगरका बसिर अहमेदले सर्वाधिक ६८ रन बनाए । उनले ४४ बलमा चार चौका र चार छक्का प्रहार गरे । ३३–४ को स्थितिबाट बसिरले ओपनर मार्टिन गप्टिलसँग ६५ रनको साझेदारी गर्दै विराटनगरको इनिङ सम्हालेका थिए ।
अर्धशतक बनाउन पाँच रनले चुकेका गप्टिलले ३५ बलमा एक चौका र चार छक्का प्रहार गरे । गप्टिललाई १४औँ ओभरको पाँचौँ बलमा चितवनका कप्तान कुशल मल्लले बोल्ड गरेका थिए ।