काठमाडौं मंसिर २,
सरकारी दूरसञ्चार सेवाप्रदायक कम्पनी नेपाल टेलिकमको कल (भ्वाइस) तथा डाटा सेवामा समस्या आएको छ । आइतबार करिब आधा घण्टासम्म जीएसएम नेटवर्कको फोन कल तथा मोबाइल इन्टरनेटमा समस्या आएको हो ।
टेलिकमका प्रवक्ता हरि ढकालले आइतबार मध्याह्न १२ बजेर १० मिनेटमा सम्पर्क हुँदा भने समस्या समाधान भइसकेको बताएका छन् । आज बिहान ११ बजेबाट समस्या आएको थियो ।
उनले भने, “जीएसएमको भ्वाइस र डाटा दुवैमा करिब आधा घण्टा समस्या आएको थियो । अहिले समाधान भइसकेको छ ।”
समस्या के कारणले आएको हो भन्ने विषयमा प्राविधिक टिमले जानकारी दिइनसकेको उनले बताए । यसअघि पनि पटकपटक नेपाल टेलिकमको बिलिङ प्रणालीमा समस्या आएर सेवा अवरुद्ध हुने गरेको थियो ।