चितवन कार्तिक ३०
चितवनको भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीमा विज्ञान प्रदर्शनी मेला–२०८१ सम्पन्न भएकोे छ । शुक्रबार विद्यालय परिसरभित्र आयोजित विज्ञान प्रदर्शनीको अभिभावक तथा आमन्त्रित अतिथिहरूले अवलोकन गरेका थिए ।
विद्यालयको अतिरिक्त क्रियाकलापअन्तर्गत वार्षिक शैक्षिक क्यालेन्डरअनुसार विज्ञान प्रदर्शनी कार्यक्रमको आयोजना गरिएको हो । प्रदर्शनीमा विद्यार्थीद्वारा निर्मित दर्जनौँ सामग्रीहरू अवलोकनका लागि राखिएको थियो ।
प्राथमिक तहका साना बाबुनानीले निर्माण गरेका सामग्रीहरू सम्बन्धित कक्षाभित्रै र कक्षा ६ देखि कक्षा १२ सम्मका विद्यार्थीले बनाएका सामग्रीहरू विद्यालयको प्राङ्गणमा प्रदर्शनीका लागि राखिएको थियो ।
कक्षा ८, ९ र १० का विद्यार्थीहरूको समूहले खेर जाने स्थानीय सामग्री र प्रविधिको अत्यधिक प्रयोग गरी निर्माण गरेको ‘पेरियोडिक टेबल’ आकर्षणको केन्द्र बनेको थियो । सोको निर्माणका लागि घरमा प्रयोग हुने पुरानो कुचो, काठका टुक्राहरू, टेप र बेलुन प्रयोग गरी निर्माण गरिएको थियो । उक्त पेरियोडिक टेबलको अध्ययनबाट कक्षा ८ को जिल्लास्तरीय परीक्षा र एसइई परीक्षामा सम्मिलित हुने विद्यार्थीहरू लाभान्वित हुने विज्ञान शिक्षक दिपेन थापाले जानकारी दिए ।
त्यसैगरी कक्षा १२ का विद्यार्थीहरूद्वारा निर्मित सेन्सरसहितको ‘ब्लुतुथ कनेक्टिङ कार’ प्रदर्शनीको अर्को आकर्षण रहेको थियो । ‘फ्युचरस्टि’ प्रविधि जडान गरिएको भनिएको उक्त कारले सडकमा आउने कुनै पनि समस्या आउनु २० सेकेन्ड पहिल्यै थाहा पाउने विद्यार्थी तनिस्क कुँवरले जानकारी दिइन् ।
त्यसैगरी लिङ्ग निर्धारण, माइटोसिस कोषिका विभाजन, ढाड हुने र ढाड नहुने जनावरका प्रकार, खाद्यान्न, स्थानीय सामग्रीको अत्यधिक प्रयोग गरी स्वच्छ पर्यावरण दर्साउने तस्बिर, अन्न, दलहन र फलफूलको राखिएको थियो ।
त्यसैगरी घरबाहिरैबाट घरभित्रका घरायसी उपकरणहरू नियन्त्रण गर्न सकिने ‘होम अटोमेसन सिस्टम’ भान्साको सुरक्षाका लागि अत्यावश्यक ‘ग्यास लिकेज डिटेक्टर’, सोलार सिस्टमलगायतमा अभिभावक तथा आमन्त्रित व्यक्तिहरूले चासो दिएर अवलोकन गरेका थिए ।
उक्त विज्ञान प्रदर्शनीको विभिन्न १२ वटा विद्यालयका १७६ शिक्षकरविद्यार्थी तथा आमन्त्रित र करिब चार सय अभिभावकहरूले अवलोकन गरेको विद्यालयले जनाएको छ ।