काठमाडौं,कात्तिक २९-
प्रधानमन्त्री केपी शर्मा ओलीले महेन्द्र राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको निर्माणमा भएको ढिलाइका विषयमा छिट्टै टुंगोमा पुगिने बताएका छन् ।
बालुवाटारमा बिहीबार सडकखण्डमा निर्माणको काम रोकिएको विषयमा सम्बन्धित मन्त्री, मन्त्रालयका अधिकारी, रुपन्देही, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) सांसद र जनप्रतिनिधिसहितसँगको छलफलमा ओलीले आउँदो मंसिरभित्र काम पूरा नभएमा ठेक्का तोड्नुको विकल्प नहुने बताए ।
“जुन अपेक्षा र तीव्रताका साथ काम गर्न सोचेका थियौँ, त्यो हुन सकेन । त्यस क्षेत्रका बासिन्दाहरूले लामो समयदेखि कष्टपूर्ण रूपमा धुलो–मैलोमा बस्नुपरेको छ ,” प्रधानमन्त्री ओलीले भने ।
हालसम्म ४४ प्रतिशत भुक्तानी भइसकेको र ५२ प्रतिशत काम भएको जनाइएको छ । चार वर्षमा सक्नुपर्ने काम ६ वर्षमा ५२ प्रतिशत काम भएको हो ।
नवलपरासी (सुस्ता पूर्व)का जिल्ला समन्वय प्रमुख भगौती यादव रुदलले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएका थिए । चाइनास्टेट कम्पनीसँग उक्त सडकखण्ड २०७९ साउन २२ सम्ममा निर्माण सम्पन्न गर्ने गरी २०७५ चैत ८ गते ठेक्का सम्झौता भएको थियो ।