चितवन, कार्तिक ४ –
नेकपा एमाले चितवनको सचिवालय बैठक सम्पन्न भएको छ । आज पार्टी कार्यालयमा बसेको बैठक विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको हो ।
केन्द्रीय पार्टी कार्यालय निर्माण गर्नका लागि चितवनका पार्टी सदस्यहरुबाट कम्तिममा १०० रुपैयाँ अनिवार्यरुपमा कार्तिक महिनाभित्रमा उठाउने निर्णय भएको प्रचार विभाग प्रमुख प्रकाश आचार्यले जानकारी दिए ।
केन्द्रीय कमिटीले नै पार्टी कार्यालय निर्माणका लागि देशभरका प्रत्येक पार्टी सदस्यबाट कम्तिममा १०० रुपैयाँ उठाउने निर्णय गरेको छ । त्यसै अनुसार चितवनमा पनि उठाउन लागिएको जनाइएको छ ।
त्यसैगरी पार्टी सदस्यहरुको विवरण मोबाइल एप्समा इन्ट्री गर्ने कार्य द्रुत गतिमा अगाडि बढाउने निर्णय गरिएको छ ।
मंसिर महिनाभित्र पालिका अधिवेशन सकिसक्ने र त्यस अगाडि लेखा परीक्षण र आवश्यक बैठकहरु बस्न पालिकालालाई निर्देशन दिने निर्णय गरिएको आचार्यले जानकारी दिए ।
त्यसैगरी एमाले चितवनले विभिन्न चाडपर्वका अवसरमा वर्षेनी आयोजना गर्दै आएको शुभकामना आदनप्रदान कार्यक्रम कार्तिक १३ गते पार्टी जिल्ला कार्यालयमा गर्ने भएको छ ।
पार्टी अध्यक्ष कमलराज पाठकको अध्यक्षतामा सम्पन्न बैठकमा नेकपा एमाले पोलिटव्युरो सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवी ज्ञवाली, केन्द्रीय सदस्यहरु जेएन थपलिया, यमबहादुर परियार, पार्वती रावल, कृष्णभक्त पोखरेल, बागमती प्रदेश कमिटी उपाध्यक्ष दावा दोर्जे लामा, प्रदेशले तोकेका पालिका इन्चार्जहरु र पालिका अध्यक्षहरुको समेत उपस्थिति रहेको थियो ।
पार्टी सचिव प्रकाश ढुंगानाले सञ्चालन गरेको कार्यक्रममा पार्टी उपाध्यक्ष श्याम कुमार विष्टले स्वागत मन्तव्य राखेका थिए । बैठकमा उपसचिवहरु मिन बहादुर परियार र ज्वाला पुरी वनले सहजिकरण गरेका थिए ।