कैलाली, असोज १७-
अछाममा एक सुत्केरी महिलाको मृत्यु भएको छ । समयमा उपचार नपाउँदा जिल्लाको ढकारी गाउँपालिका ६ कि २९ वर्षीया सरिता देवी जैसीको उच्च रक्तस्रावका कारण मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार गए राति करिब १२ बजे उनलाई सुत्केरी बेथा लागेको थियो । परिवारका सदस्यहरूले स्वास्थ्य चौकी ढुङ्गाचाल्नामा लग्ने क्रममा उनले बाटोमा नै बच्चा जन्माएकी थिइन् । बीच बाटोमा सुत्केरी हुँदा नै जैसीको उच्च रक्तस्राव भइसकेको थियो ।
त्यसलगत्तै उनलाई स्वास्थ्य चौकी ढुङ्गाचाल्ना पुर्याएको थियो तर, स्वास्थ्य कार्यालयमा आवश्यक उपकरण र दक्ष जनशक्ति नभएको भन्दै उनलाई थप उपचारको लागि जिल्ला अस्पताल मङ्गलसेन लैजान भनिएको थियो ।
सुत्केरी भएको करिब ७ घण्टासम्म पनि उपचार नपाउँदा जिल्ला अस्पतालमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए ।