चितवन, असोज २
२०७३ साल र २०७६ सालमा तयार भएको सुनचाँदी निर्देशिका पुर्नलेखनको कार्य तिब्र रुपमा भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जन रसाईलीले बताएका छन् । सुनचाँदी व्यवसायीहरुको सक्रियतामा चितवनमा संचालित सुनचाँदी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारण सभामा अध्यक्ष रसाईलीले सो कुरा बताएका हुन् ।
उनले भने “पटक पटक सुनचाँदी निर्देशिका तयार हुदैँ थन्किदैँ आइरहेको थियो तर अब यसलाई समयसापेक्ष पुर्नलेखन गरी यथासिघ्र जारी गर्ने छौं । ”
यहि भदौं २३ र २४ गते धुलिखेल काभ्रेमा सम्पन्न २ दिने रणनीतिक योजना तर्जुमा कार्यशाला गोष्ठीले तीन वर्षे कार्यकाल भित्र पहिलो, दोस्रो र तेस्रो वर्ष गर्ने कार्ययोजनाहरु तय भइसकेको र केहि दिनमै काभ्रे घोषणा पत्र प्रस्तुत गर्न गइरहेको अध्यक्ष रसाईलीले जानकारी दिएका छन् । उनले विषयगत समितिहरूलाई क्रियाशील बनाउने गरि नीति तथा कार्यक्रमहरु तय हुन लागेको बताएका छन् ।
राज्यले सुनको आयातमा लगाएको २० प्रतिशत भन्सार शुल्क छिमेकी राष्ट्रहरुभन्दा तेब्बर बढी भएकोले सोको अवान्छित लाभ केहि पहुँचवाला व्यवसायीहरुले लिइरहेको होकी भन्ने आशंका जाहेर गर्दै अहिले बजारमा देखिएको अस्वस्थ प्रतिस्पर्धा र विकृतिहरूको अन्त्यको लागि पनि भन्सार शुल्क छिमेकी राष्ट्रको हाराहारीमा घटाउनु पर्ने अध्यक्ष रसाईलीले जिकिर गरेका छन् ।
उनले आफ्नै कार्यकालमा महासंघको भवन निर्माण गर्ने गरि योजना बनाई आवश्यक घडेरी खरिदका लागि तिब्र रुपमा खोजी भइरहेको जानकारी दिएका छन् ।
सहकारीका अध्यक्ष रुविन रामुदामुको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा महासंघका सचिव समेत रहेका सहकारीका उपाध्यक्ष टुलकप्रसाद विश्वकर्माले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा जिल्ला सहकारी संघका प्रतिनिधि बाल कुमार श्रेष्ठ, चितवन जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष गोविन्द भट्टराई, भरतपुर महानगरपालिका सहकारी शाखाकी अधिकृत रोजी केसी, राष्ट्रिय सहकारी बैंक नारायणगढ शाखाका प्रतिनिधि सुजन रेग्मी लगायतको सहभागिता रहेको थियो भने सहकारीका सचिव निलेनमान शाक्यले कार्यक्रम संचालन गरेका थिए ।

















