चितवन, २५ भदौ
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड निर्माणको काम ढिलो गरेको भन्दै गैँडाकोटमा स्थानीयले चक्काजाम गरेका छन् । सोमबार गैँडाकोट–२, पुलचोकनजिक इलाका प्रहरी कार्यालय गैँडाकोटअगाडि स्थानीयले करिब १ घन्टा चक्काजाम गरेर बिरोध जनाएका हुन् ।
छिटो काम गर्न दबाब दिनका लागि सडक अवरूद्ध गरिएको स्थानीयहरुले बताएका छन् । स्थानीयहरुले सडक निर्माणमा सरोकारवालाले चासो नदेखाएको भन्दै टायर बालेरसमेत विरोध गर्दै सडक अवरूद्ध गरेका हुन्।
प्रहरी निरीक्षक हस्तबहादुर सुनारले सडक निर्माण पक्षलाई बोलाएर छलफल गराउने भनेपछिअवरूद्ध सडक स्थानीयले खोलेका छन् ।
नारायणगढ–बुटवल सडक निर्माण समयमा नहुँदा यात्रुले सास्ती व्यहोर्नु परेको छ। सडक खण्डमा दुर्घटना समेत हुने गरेका छन् ।