चितवन, १२ साउन
भरतपुर महानगरपालिका-२९ स्थित सिमलतालमा आएको भेलबाढीले त्रिशूलीमा खसेको बसको खोजीकार्य जारी छ।
शनिबार मध्याह्नदेखि खोजी कार्य पुनः थालिएको छ। यसपटक भारतबाट दुइटा चुम्बक ल्याइएको छ। १९ किलो र १४ किलोको दुइटा चुम्बक पानीमा खसालेर बेपत्ता बसको खोजी सुरू भएको छ।
प्रमुख जिल्ला अधिकारी यादवकाअनुसार संभावित स्थानमा बस रहे नरहेको पत्ता लगाउन भारतीय टोलीले ‘म्याग्नेटिक डिभाइस’ (ठूलो चुम्बक) ल्याएको थियो।
‘चुम्बक लगेर नदीका संभावित स्थान खसालिनेछ। बस रहेछ भने त चुम्बक टाँसिइहाल्छ,’ चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने, ‘चुम्बकमार्फत फलाम रहेको थाहा भएमा गोताखोरलाई पानीभित्र पठाइनेछ।’
असार २८ गते बिहान साढे ३ बजेतिर भरतपुर–२९ स्थित नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जान आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स त्रिशूली नदीमा खसेका थिए।
गणपतिमा ३८ जना र एन्सल्समा २७ जना यात्रू रहेको अनुमान गरिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी भावेष रिमालकाअनुसार अहिलेसम्म १९ जना यात्रुको शव भेटिएको छ। सनाखत भएका शवमध्ये ५ जना भारतीय हुन्।
                              
                                                            
        
        
        
        
        
        
        
        
        
   
   
   
                                                                                                         
   
                                                               
   
   
   
   
   
   
   
   
                                                      
                                                      
                                                      
 
           
   
   
   
 
           
 
           
 
           
 
           
   
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           













