चितवन, साउन ९ –
चितवन राष्ट्रिय निकुञ्जले गैंडालाई करेन्ट लगाएर मारेको आरोपमा २ जनालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा नं. २६ भगडी भन्ने स्थानमा करेन्ट लगाएर गैंडा मारेको देखिए पछि २ जनालाई अनुसन्धानका लागि पक्राउ गरिएको निकुञ्ज स्रोतले जनाएको छ ।
पक्राउ परेकाहरुको नाम भने निकुञ्जले सार्वजनिक गरेको छैन । उनीहरुले बँदेल मार्नका लागि भन्दैं तार विद्युतीय धराप थापेको र सोही धरापमा गैंडा परेको देखिएको निकुञ्ज स्रोतले जनाएको छ ।
घटनास्थल नजिकै घन, तार र किला (काँटी) भेटिएको छ । सुकेको मकैंबारीमा चर्दै आएको अन्दाजी २० बर्षको पोथी गैंडा विद्युतीय धरापमा परेको थियो । गैंडाको मुखबाट रगतसमेत बगेको थियो ।
चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले गैंडाको पोष्टमार्टम तथा अन्य आवश्यक अनुसन्धान थालिएको बताए । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत कालाबञ्जर उपभोक्ता समितिको क्षेत्र नजिकै यो घटना भएको हो । मृत पोथी गैंडाको खाग, खुर सुरक्षित छन्।
                              
                                                            
        
        
        
        
        
        
        
        
        
   
   
   
                                                                                                         
   
                                                               
   
   
   
   
   
   
   
   
                                                      
                                                      
                                                      
 
           
   
   
   
 
           
 
           
 
           
 
           
   
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           













