चितवन, २ साउन
भरतपुरस्थित नेपाल पोलिटेक्निक इन्स्टिच्युटमा अध्ययनरत छात्रहरुले बनाएको रोबट उद्घाटन गरिएको छ । आज बुधबार राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महाबिर पुनको विशेष उपस्थितिमा एक कार्यक्रमबीच रोबट उद्घाटन गरिएको हो ।
इन्स्टिच्युटका विद्यार्थीहरु सफल पौडेल, हिरामणि थनेत र सोयल आलमले Human Following Robot बनाएका हुन् ।
विद्यार्थीहरुले बनाएको उक्त रोबटलाई महाबिर पुनले खुलेर तारिफ गरेका थिए । कार्यक्रममा पुनले आफ्नो पुस्तक आत्मकथाबारे विद्यार्थीहरुलाई जानकारी गराएका थिए ।
कार्यक्रममा निरन्तर मिहिनेतले नै सफलता दिने हुँदा विद्यार्थीहरुले अध्ययन अवधि र अध्ययन पश्चात पनि आफ्नो क्षेत्रमा अघि बढिरहनु पर्ने वैज्ञानिक पुनले बताए । नेपाल पोलिटेक्निक इन्स्टिच्युटका विद्यार्थीहरुको मेहनतको प्रसंशा गर्दै पुनले उनीहरुको प्रतिभालाई अझै फराकिलो स्थान दिई उनीहरुलाई राष्ट्रिय आविष्कार केन्द्रमा समेत भविष्यमा काम गर्न सक्ने मार्गदर्शन गरेका थिए ।
महाबिर पुनबाट आफुहरुले बनाएको रोबट उद्घाटन गर्न पाउँदा खुसि लागेको विद्यार्थी सोयल आलमले बताए । आलमले आफुहरु अझ नंया कामहरु गर्न उस्साहित भएको बताए । उनले रोबट बनाउन साथ,सहयोग र प्रेरणा प्रदान गर्ने सह-प्राचार्य दिपक ढकालसहित नेपाल पोलिटेक्निक इन्स्टिच्युट परिवारप्रति कृतज्ञता व्यक्त गरे ।
विद्यार्थीहरुले बनाएको उक्त रोबट सुपर मार्केट, अस्पताल, घरायसी प्रयोजन लगायतका क्षेत्रहरुमा प्रयोग हुने बताइएको छ ।
कार्यक्रममा करिव २०० जना विद्यार्थी सहभागी भएका थिए । कलेज परिवारले पुनलाई उच्च सम्मान व्यक्त गर्दै पुनद्वारा लिखित आत्मकथा पुस्तक करिव ६ दर्जन बढी वितरण गरिएको थियो ।
सह-प्राचार्य दिपक ढकालले संचालन गरेको कार्यक्रममा इन्स्टिच्युटका प्राचार्य डा. केशवराज अधिकारी, प्रवन्ध निर्देशक ई. बाबुराम उपाध्याय, कार्यकारी अधिकृत शिव प्रसाद सुवेदी लगायत न्स्टिच्युटका कर्मचारीको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुको पनि बाक्लो उपस्थिति रहेको थियो ।