भरतपुर, ६ असार
प्रथम चितवन जिल्ला विद्यालय स्तरीय छात्रा भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । जिल्ला भलिवल संघ चितवनको आयोजनामा भोलि (बिहीबार) देखि हुने प्रतियोगिताको खेल तालिका आज सार्वजनिक भएको हो ।
प्रतियोगितामा चितवनका विभिन्न १४ विद्यालय सहभागी भएका छन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । दुबै समूहमा सात-सात टोली रहेका छन् । प्रतियोगिताको उद्घाटन खेलमा दुर्गाशेषकान्त अधिकारी मावि र सोमान्जिव मावि भिड्ने भएका छन् । खेल बिहान ७ बजे हिमालय दण्डपाणी न्यौपाने मावि भरतपुर १३ को खेल मैदानमा हुनेछ ।
प्रतियोगिताको उद्घाटन नेपाल भलिवल संघका केन्द्रीय सदस्य तथा पूर्व राष्ट्रिय खेलाडी गंगा थापा श्रेष्ठले गर्नेछन् । असार ८ गतेसम्म हुने प्रतियोगिताको विजेताले ट्रफीसहित २० हजार रुपैयाँ तथा उपविजेताले दश हजार रुपैयाँ प्राप्त गर्नेछ । चितवन जिल्ला भित्र रहेका प्रतिभावान छात्रा खेलाडीहरुको प्रतिभा प्रष्फुटन तथा पहिचानका लागि प्रतियोगिता आयोजना गरिएको संघका कार्यबाहक अध्यक्ष गंगालाल लामाले बताए ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई जिल्लाका तर्फबाट विभिन्न प्रतियोगितामा पठाउने लक्ष्यसमेत रहेको अध्यक्ष लामाको भनाइ छ । प्रतियोगिताको मुख्य प्रायोजकमा सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालि रहेको छ ।