भरतपुर,३ असार
भरतपुर महानगरपालिका वडा नं २ महानगरकै उत्कृष्ट वडा बनेको छ । उत्कृष्ट वडा बनेकै कारण भरतपुर २ ले सबैभन्दा बढी बजेट पाएको छ ।
यस वडाले आगामी वर्ष २०८१÷८२ का लागि यस वडाले दुई करोड ९० लाख बजेट प्राप्त गरेको छ । वडा नं–२ का वडाध्यक्ष मनोज रानाभाटले उत्कृष्ट वडा भएर नै महानगरभरि सबैभन्दा बढी बजेट विनियोजन भएको बताए । उनले भने, ‘ज्यादै खुसी लागेको छ, मिहिनेतको फल मीठो भइरहेको छ ।’ यस वडाले शिक्षा, स्वास्थ्य, कृषि, सडक पूर्वाधार, वातावरण सरसफाइलगायत हरेक क्षेत्रमा तीव्रतर विकास गरिरहेको छ ।
वडा नं २ राजस्व संकलन र विकास खर्चमा पनि महानगरभरि नै उत्कृष्ट भएको वडाध्यक्ष रानाभाटले बताए । अन्य शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, ढल निर्माणलगायत हरेक क्षेत्रमा वडा उत्कृष्ट बनेको उनको भनाइ छ । ‘अर्को वर्ष अझ प्रभावकारी काम गरेर फेरि पनि उत्कृष्ट बन्ने संकल्प गरेको छु’ रानाभाटले भने ।
उनले यस कार्यमा सफलता दिलाउन लागेका वडा सदस्यहरु, कर्मचारीहरु, टोल अध्यक्षहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिलगायत सम्पूर्ण टोलवासीलाई आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेका छन् ।
वडाध्यक्ष रानाभाटका अनुसार वडाले सम्पूर्ण वडावासीलाई स्वास्थ्य, शिक्षा र कृषिमा छूट दिएको छ । वातावरणमैत्री वडा निर्माणको लागि काम गरिरहेको छ । ढल तथा अन्य भौतिक पूर्वाधारमा पनि तीव्ररुपमा कामहरु भइरहेका छन् । वडाले सीपमूलक तालिमदेखि, बाँझो जग्गामा खेती गर्ने अभियान समेत चलाइरहेको छ ।














