चितवन, ३१ जेठ
भरतपुर महानगरपालिका वडा नं ८ र ९ को सिमानास्थित आदर्श चोकमा तिन सवारीसाधन एकापसमा ठोक्किदा चार जना घाइते भएका छन्। म्याजिक र स्कुटर ठक्कर ठोक्किदा सडकमा गुडिरहेको साइकललाई म्याजिक अनियन्त्रित भई ठक्कर दिएको हो।
घाइते हुनेहरुमा म्याजिक चालक भरतपुर–२३ बस्ने ३० वर्षीय विशाल परियार, म्याजिकमा सवार माडी–७ बस्ने ६० वर्षीया विष्णुमाया कँडेल, स्कुटर चालक भरतपुर–८ बस्ने २३ वर्षीय रिवाज न्यौपाने र साइकलयात्री दाङको घोराही घर बताउने २५ वर्षीय आशिष चौधरी रहेका छन्।
पाँडेघुम्तीबाट बसपार्कतर्फ आउँदै गरेको ना.१ ज ७५५५ नम्बरको म्याजिक र भित्री बाटोबाट निस्किँदै गरेको ना ३६ प ५८ नम्बरको स्कुटर ठक्कर खाई म्याजिक अनियन्त्रित भई बाटो साइडमा गुडिरहेको साइकललाई ठक्कर दिँदा चार जना घाइते भएका हुन् ।
घाइतेमध्ये टाउकोमा चोट लागेका साइकलयात्रीको अवस्था गम्भीर रहेको र घाइतेहरुको एलाइभ हस्पिटल,भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । तीनवटै सवारीसाधन र म्याजिक चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।














